Logo
Logo

डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघ्यो


दृष्टि संवाददाता


काठमाडौं । कोरोना कहरमा सेयर बजारमा आकर्षण बढ्दा डिम्याट खाता खोल्नेको संख्या ३५ लाख नाघेको छ । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) को अनुसार सोमबारसम्म मुलुकभरका विभिन्न बैंक तथा क्यापिटल मार्केटबाट डिम्याट खाता खोल्ने नयाँ लगायनीकर्ताको संख्या ३५ लाख नाघेको हो ।

गत चैत महिना यता साढे ३ लाखबढी नयाँ डिम्याट खाता सञ्चालक थपिएका छन् । यसबाट पनि मुलुकको सेयरबजारमा दैनिक नयाँ लगानीकर्ताहरु थपिने गरेको तथ्यांकले पुष्टि गर्छ ।

सिडिएससीका अनुसार सोमबारसम्म डिम्याट खाता खोल्नेको संख्या कुल ३५ लाख ९ हजार ८ सय ८२ पुगेको हो । यसभन्दा अघि गत २८ फागुनसम्म डिम्याट खाता खोल्नेहरुको संख्या ३१ लाख ५१ हजार २८९ जना मात्र थियो ।

पछिल्लो डेढ महिनाको अवधीमा झण्डै ३ लाख जना नयाँ लगानीकर्ताले डिम्याट खाता खोलेको देखिन्छ । सिडिएससीका अनुसार पछिल्लो समयमा आवेदन दिनेहरु मध्ये कसैको पनि हातखाली नहुनेगरी नेपाल पुर्नविमा कम्पनी र नेपाल इन्फास्ट्रचर बैंक (निफ्रा) लगायतले ठूलो परिमाणमा आइपीओ जारी गरेकाले पनि अहिले डिम्याट खाताखोल्नेहरुको संख्या विगतका वर्षहरुको तुलनामा बढेका हो ।

हाल आइपीओ निष्काशनको पाईपलाइनमा समेत नयाँ/नयाँ कम्पनीहरु थपिँदै गएको र यसले पनि सेयर बजारप्रति सर्वसाधारणको रुची बढाएको छ ।

अहिले विभिन्न आइपीओमा आवेदन भर्ने नयाँ लगानीकर्ताहरुको संख्या बढेर १८ लाख नाघिसकेको छ । पछिल्लो चरणमा खुलेका मध्ये सबैभन्दा बढी ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६ सय ४८ जनाले आवेदन गरेका थिए ।

यसरी साधारण सेयरमा आवेदन दिने देखि दोस्रो बजारमा कारोबार गर्नका लागि समेत डिम्याट खाता अनिवार्य हुनुपर्छ । जसले गर्दा ब्रोकर कार्यालयदेखि बैंकहरुमा डिम्याट खाता खोल्नेको बाक्लो उपस्थिति हुने गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहर तीब्र रूपमा फैलिएर दैनिक संक्रमितको संख्या बढेपछि नियन्त्रणको उपाए स्वरुप सरकारले जारी राखेको निषेधाज्ञा तथा धेरै क्षेत्र लकडाउनको समयमा पनि अनलाइन मार्फत खाता खोल्न सक्ने प्रविधीमैत्री सुविधाहरु भएकाले अहिले नयाँ डिम्याट खाता खोल्ने क्रम दैनिक बढीरहेको छ ।

पछिल्लो समय शेयर बजारमा प्रविधिको प्रयोग बढ्न थालेपछि अनलाइन प्रयोगकर्तासँगै सक्रिय लगानीकर्ताको संख्या निरन्तर बढ्न थालेको सिडिएससीले जनाएको छ ।

पछिल्लो चरणमा दोस्रो बजारमा सेयर कारोबारका लागि करिब ६ लाख लगानीकर्ताले कारोबार खाता खोलिसकेका छन् भने साढे ३ लाख लगानीकर्ताले अनलाइन कारोबारका लागि टिएमएस समेत लिइसकेका छन् ।

सेयर बजारमा देखिएको आकर्षणकै कारण अहिले यस्तो कोरोना कहरकाबीचमा पनि दैनिक सेयर बजार उकालो लागिरहेको अवस्था छ । यसले नयाँ लगानीकर्ता थप उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्