Logo
Logo

प्रधानमन्त्री रोजगार कार्यक्रमः साढे ७ लाख सूचीकृत, ८२ हजारलाई मात्रै रोजगारी


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारी चलिरहेकै बेला चालू आवको बजेटमा सरकारले २ लाखलाई न्यूनतम रोजगारी दिने घोषणाका साथ अघि बढाएको बहुचर्चित प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अहिलेसम्म ८२ हजार ५ सयले रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको सचिवालयका अनुसार सबैभन्दा बढी रोजगारी सृजना भएको प्रदेश सुदूरपश्चिममा २१ हजार ५४, कर्णाली प्रदेशमा १६ हजार २०० र प्रदेश नम्बर २ मा १५ हजार ६०० ले रोजगारी पाएका छन् ।

उनीहरूले औसतमा १२ दिनको रोजगारी पाएका छन् । ज्यालाबापत अहिलेसम्म ५७ करोड ९५ लाख रुपैयाँ वितरण गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम सचिवालयले बताएको छ । चालू आवमा ७ लाख ५३ हजार १६६ जना बेरोजगारको सूचीमा सूचीकृत भएका थिए । आवेदन परेका सबै रोजगारी पाउनयोग्य हुँदैनन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न बनाइएको मापदण्डअनुसार परिवारका कुनै पनि सदस्यले कहीँ कतैबाट आयस्रोत आर्जन गर्न नसक्ने अवस्था भएमा मात्र सूचीकृतलाई न्यूनतम १०० दिनसम्मको रोजगारी दिन सक्ने उल्लेख छ ।

रोजगारी पाउन योग्यलाई काम दिन चालू आवमा ७ अर्ब ८६ करोड बराबरका १० हजार ५ सयभन्दा बढी कार्यक्रम छनोट गरिएको सचिवालयले जानकारी दिएको छ । चालू आर्थिक वर्षमा १० अर्ब ३४ करोड बजेट रोजगार कार्यक्रम कार्यान्वयन गर्न विनियोजन गरिएको थियो । चालू आवबाटै कार्यान्वयन हुनेगरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अघि बढाउन विश्व बैंकअन्तर्गतको अन्तरराष्ट्रिय विकास संस्था (आईडीए) ले रू. १३ अर्ब ६५ करोड सहुलियत ऋण दिएको थियो ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्