Logo
Logo

१ वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ । महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसायीहरू विक्री नभएको दूधलाई धूलो ९पाउडर० र बटर बनाएर मौज्दात गर्न बाध्य भएका हुन् ।

नेपाल डेरी एशोसिएशनले उपलब्ध गराएको तथ्यांकअनुसार मौज्दात रहेको ३ अर्ब रुपैयाँको धूलो दूध र बटरमध्ये एशोसिएशन भित्र मात्रै वर्ष दिनको अवधिमा करीब १ अर्ब रुपैयाँको दूध मौज्दात रहेको छ । यस वर्ष पनि कोरोना संक्रमणको दर बढ्दै गएर अवस्था भयावह बन्दै गएपछि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा मात्रै दूधको खपत करीब ६० प्रतिशतले घटेको बताइएको छ ।

एशोसिएशनका महासचिव प्रह्लाद दाहालका अनुसार दूधको खपत घटेसँगै मौज्दात अझै बढ्ने देखिएको छ । यसबाट दूध उत्पादक किसान, व्यवसायी र उद्योगी सबैलाई बढी भएको दूधलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा चुनौती थपिएको उनको भनाइ छ ।

गतवर्ष महामारीका कारण लामो समयसम्म भएको बन्दाबन्दीले होटल, रेस्टुराँ, स्कूल, कलेज, पार्टी प्यालेसलगायत दूध धेरै खपत हुने व्यवसायहरू बन्द हुन गई खपत घट्न पुग्दा उद्योगीहरूको नगद प्रवाह रोकिएको छ । यसले गर्दा अधिकांश उद्योगहरूले हालसम्म पनि किसानलाई दूधको भुक्तानी दिन नसकेको अवस्था छ ।

सरकारले उद्यागीहरूसँग मौज्दात रहेको सामानको रकम बराबर उद्योगलाई कर्जा उपलब्ध गराउनुपर्ने माग दुग्ध व्यवसायीहरूले राखेका छन् । त्यसो गर्दा किसानहरूले भुक्तानी पनि पाउने र उद्योगीहरूको दैनिकी पनि चल्न सजिलो हुने सरोकारवालाहरूको भनाइ छ ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्