Logo
Logo

भर्ना नपाएर छटपटाउँदै सिकिस्त बिरामी


दृष्टि संवाददाता




नेपालगन्ज । कोरोनाको ‘हट स्पट’ नेपालगन्जमा लामो समयसम्म शव व्यवस्थापन नहुँदा अन्य बिरामी र कुरुवाले मानसिक तनाव झेल्नुपर्ने मात्र होइन, बेडका लागि पालो कुरिरहेका अन्य बिरामी पनि समयमा उपचार पाउनबाट वञ्चित भइरहेका छन् । आइतबार मृत्यु भएका सल्यानका पुरुषको शव समयमा नउठाउँदा दिनभर बेड खाली नभएको कुरुवा पौडेलले बताए । ‘दिनभर शव नउठाउँदा अक्सिजन दिनुपर्ने बिरामी पनि बाहिर बसेर पालो कुरिरहेका थिए । शव उठ्नासाथ बिरामीले ठाउँ पाए । नयाँ बिरामी थपिए,’ उनले भने ।

अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका– १० की ४२ वर्षीया महिलाको पनि आइतबार दिउँसो ४ बजेतिर मृत्यु भयो । उनको शव पनि दुई घन्टापछि मात्रै वार्डबाट बाहिर निकालियो । शव बाहिर निकाल्ने प्रतीक्षामा आफन्तहरू अस्पतालको वार्डबाहिर कुरिरहेका देखिन्थे ।

अस्पतालको आइसियू र भेन्टिलेटरमा मृत्यु भएका बिरामीको शव लामो समयसम्म त्यहीँ राखिने गरेको बर्दियाकी बिरामी कुरुवा सीता थापाले बताइन् । शव छिटो नउठाउँदा अन्य बिरामीले पालो नपाउने गरेको उनको भनाइ छ । ‘मृत्यु भएका बिरामीको शव नउठाउँदा सिकिस्त बिरामीले समेत पालो कुर्नुपर्ने बाध्यता छ । पालो कुर्दाकुर्दै कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ,’ उनले भनिन् ।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले आफन्तहरू पनि टाढिने गरेका छन् । शव बुझ्न आफन्त नआएकै कारण आइतबार मृत्यु भएका बिरामीको शव रातभर अस्पतालको ग्यालेरीछेउमै नजिकै राखिएका थिए । ‘परिवारका सदस्य बाहिरबाट आउनुपर्ने भएकाले शव रातभर अस्पतालमै राख्ने भएका छौँ,’ मृतकका आफन्त प्रकाश कक्षपतिले भने, ‘यो हाम्रो मात्र होइन, सबैको बाध्यता हो ।’

समयमा शव व्यवस्थापन नहुँदा चिकित्सक र स्टाफ नर्सहरूलाई पनि तनाव हुने गरेको छ । बिरामीको उपचार गरिरहेका वेला शव देखेपछि मस्तिष्क उतै तानिने गरेको अस्पतालको वार्डमा भेटिएकी एक स्टाफ नर्सले बताइन् । ‘हाम्रो मन ढुंगा त होइन । आफैँले उपचार गरिरहेको बिरामी मरेपछि हामीलाई पनि नमज्जा लाग्छ । मन रुन्छ । एउटै शव लामो समयसम्म देख्दा झनै निराशा पैदा हुन्छ,’ ती स्टाफ नर्सले भनिन् ।

कोरोना जित्न बिरामीको आत्मबल दरिलो हुनुपर्ने बताउँदै ती नर्सले परिवार र उपचारमा संलग्न चिकित्सकको हौसला पनि महत्वपूर्ण भएको बताइन् । ‘शव देखेपछि बिरामीको आत्मबल घट्न गई रोगसँग लड्ने शक्ति कमजोर हुने गर्छ । बिरामीको मनोबल बढाउन शव व्यवस्थापनमा अस्पताल प्रशासनले ध्यान पु¥याउनुपर्छ,’ उनले भनिन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले भने मृत्यु भएको प्रमाणित गर्न र शव व्यवस्थापनका लागि सेना र परिवारका सदस्यलाई बुझाउन समय लाग्ने गरेको बताए । कहिलेकाहीँ परिवारका सदस्य समयमा नआउँदा पनि व्यवस्थापनमा ढिलाइ हुने गरेको उनको भनाइ छ । ‘जतिसक्दो छिटो शव व्यवस्थापन गर्न अस्पताल तत्पर हुन्छ, तर कोरोनाका बिरामीका आफन्त समयमा नआउने र सेनाको शव व्यवस्थापन टोलीले नभ्याउने गरेका कारण केही ढिला हुने गरेको छ,’ डा. थापाले भने ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्