Logo
Logo

‘दिनभर नै बेडमा शव हुन्थ्यो, अस्पतालमा होइन, मुर्दाघरमा छु जस्तो लाग्थ्यो’


दृष्टि संवाददाता



धरान । धरान उपमहानगरपालिकाको न्यायपालिका सदस्य विकास बनेपाली कोभिडलाई हराएर घर फर्किएका छन् । लगातार ११ दिन अक्सिजनको सहारामा बसेका उनी अहिले निको भइसकेका छन् । तर, अस्पताल बसाइमा उनले भोगेको अनुभव युद्धजत्तिकै कठिन छ ।

‘मेरो छेवैमा थुप्रै संक्रमितको मृत्यु भयो । एकछिन अघिसम्म आफूजस्तै जिउने चाहना राखेको मान्छे, एकैछिनमा शवमा परिणत भएको हुन्थ्यो । आँखा घरीघरी शवतिरै जान्थ्यो । निकैबेरसम्म शव निकालिँदैनथ्यो । कहिले त दिनभर पनि लास उठ्दैनथ्यो । त्यो देखेर आखिर म पनि मर्ने त हुँ भन्ने डर लाग्थ्यो । मृतकको आडमा आफ्नो पनि पालो कुरेर बसेजस्तो लागिरहन्थ्यो,’ बनेपालीले नयाँ पत्रिकासँग भने, ‘सुन्नेले यो पीडा महसुस गर्न नसक्लान्, तर गम्भीर संक्रमितले भित्र निकै ठूलो लडाइँ लड्नु परिरहेको छ ।’

उनले बिरामीको मनोविज्ञानलाई पनि ख्याल गरेर उपचार गर्न सके अझै धेरैलाई बचाउन सकिने सम्भावना व्यक्त गरे । ‘अरू बेडका बिरामीले थाहै नपाउने गरी तत्कालै शव व्यवस्थापन गर्नुपर्ने हो । तर, बिपीमा त्यस्तो भइरहेको छैन,’ उनले थपे, ‘मैले ११ दिन अक्सिजन बेडमा रहँदा आठवटा शव देखेँ । पटकपटक म आत्तिएँ । परिवारका सदस्य भेट्न नपाउने भएँ, अन्तिम सास फेर्दा परिवारका कोही नहुने भए भन्ने त्रासले लगातार लखेटिरहन्थ्यो । अरूको लास हेरेर म बाँचेँ । मनोबल उच्च बनाउन नसकेर कतिले ज्यान गुमाएका पनि होलान् ।’

सोही अस्पतालमा गत मंसिरमा १६ दिन उपचार गरेर फर्किएका उदयपुर चौदण्डीगढी नगरपालिकाका मनोज राईको पनि भोगाइ त्यस्तै छ । ‘आँखैअगाडि भकाभक मान्छे मरेको देखँे । मन आत्तिन्थ्यो । म पनि काल पर्खेर बसेको मात्र हुँजस्तो लाग्थ्यो,’ उनले सुनाए, ‘एकपटक सप्तरी घर भएका एक वृद्धको शव आठ घन्टासम्म पनि बेडमै राखिएको थियो । म आफूलाई अस्पतालमा होइन, मुर्दाघरमा छुजस्तो लाग्थ्यो ।’

कोरोनाको पहिलो महामारीका वेला बिपी प्रतिष्ठानमा बेड नपाएर झन्डै १५ जनाको ज्यान गएको थियो । त्यसवेला पनि शव व्यवस्थापन छरितो थिएन । मृत्यु भइसकेकाहरू बेडमै रहने, गम्भीर संक्रमितहरू बेड नपाएर छटपटिएरै मर्नुपर्ने अवस्था हिजो पनि थियो । अहिले बिपी प्रतिष्ठानमा गम्भीर संक्रमितको संख्या धान्नै नसक्ने गरी बढिसकेको छैन ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहका अनुसार हाल आठजना आइसियू बेड, २२ जना एचडियू बेड र १५ जना साधारण बेडमा उपचार गराइरहेका छन् । प्रतिष्ठानमा जम्मा १५ वटा आइसियू बेड छन् । आइसियू बेडमा भेन्टिलेटरसहितको सुविधा छ । एचडियू बेडमा अक्सिजन जडान गरिएको छ । तर, एक सय बेड क्षमता भएको प्रतिष्ठानमा पछिल्लो समय बिरामीको चाप बढ्दै छ । हाल भर्ना भएका प्रायजसो बिरामी जटिल अवस्थाका रहेको प्रतिष्ठानका सहप्रवक्ता डा। चूडामणि पोखरेलले बताए । यो अवस्था बढिरहँदा शव व्यवस्थापनमा हिजोकै जस्तो कमजोरी हुने हो भने उपचार अभावमा धेरैले ज्यान गुनाउनुपर्ने अवस्था आउन सक्छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्