Logo
Logo

बहुमत जुटाउन जसपामा दुवै पक्ष सक्रिय


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछि आफ्नो पक्षमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका दुवै पक्ष सक्रिय भएका छन्।

दुवै पक्षका शीर्ष नेताहरू सोमबारदेखि आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यसँग सम्पर्कमा छन्। आफूनिकट सांसदलाई अर्को कित्तामा जान नदिन दुवै पक्षका शीर्ष नेता सक्रिय देखिएका छन्।

दुवै पक्षले आफूनिकट सांसदको हस्ताक्षर संकलन गर्ने तयारी गरेको स्रोतको भनाइ छ। महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई तत्काल काठमाडौं बोलाएको छ भने काठमाडौंमा रहेका सांसद तथा कार्यकारिणी समिति सदस्यलाई बाहिर नजान निर्देशन गरेको छ। यो पक्षले मंगलबार आफूनिकट सांसद तथा कार्यकारिणी समितिका सदस्यहरूसँग अनौपचारिक छलफल गर्ने भएको छ।

ठाकुर पक्षका कार्यकारिणी समिति सदस्य केशव झाले जसपाका सांसद तथा कार्यकारिणी समितिका सदस्यलाई काठमाडौं बोलाइएको बताए। प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन्। तीमध्ये दुईजना हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा परेका छन्। बाँकी ३२ सांसदमध्ये पूर्वराजपाका र पूर्वसमाजवादीका १६–१६ सांसद छन्। ५१ सदस्यीय कार्यकारिणी समितिमा पूर्वराजपाका तीन सदस्य महेन्द्र यादव, प्रदीप यादव र गजाधार यादव भट्टराई–यादव कित्तामा पुगेका छन्।

पूर्वराजपाका एक सांसद महेन्द्र यादव पनि कित्ता परिवर्तन गरी भट्टराई–यादव खेमामा पुगेका छन्। भट्टराई–यादव खेमा कुनै पनि अवस्थामा केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्नुपर्छ भन्ने लाइनमा छ भने ठाकुर–महतो खेमा सरकारविरोधी गठबन्धनमा सहभागी नहुने सहमति ओलीसँग गरेको छ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्