Logo
Logo

पार्किङ गरेको कारभित्र तीन बालकको शव


दृष्टि संवाददाता



काठमाडौं । दाङमा चार महिनादेखि पार्किङ गरेर राखेको कारभित्र तीन दलित बालकको शव नग्न–अर्धनग्न अवस्थामा भेटिएको घटनाप्रति राष्ट्रिय दलित आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

आयोगसहितका संघसंस्थाले अपहरणपछि हत्या गरिएको भन्दै घटनाको अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजारनजिक पार्किङ गरिएको भारतीय नम्बर प्लेट जे ०१ सिसी ०८८५ नम्बरको निशान कारभित्र शनिबार शव भेटिएका थिए । तीनै बालक तुलसीपुर–६ कै बरुवागाउँका हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार किरण परियारका ६ वर्षीय छोरा करण, सन्तोष परियारका सात वर्षीय छोरा सुवास भनिने सुवर्ण र भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देशको शव कारमा भेटिएको थियो । प्रहरीले कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

परिवारका अनुसार तीनै बालक १६ वैशाखदेखि बेपत्ता थिए । त्यसको तीन दिनपछि कारभित्र शव भेटिएको हो । राष्ट्रिय दलित आयोगकी सदस्य मीनादेवी सोवले आइतबार जारी गरेको विज्ञप्तिमा घटना शंकास्पद रहेको भन्दै स्वतन्त्र र विश्वसनीय छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीउपर कानुनी कारबाही गर्न माग गरिएको छ ।

‘लक गरिएको गाडीभित्र नग्न तथा अर्धनग्न अवस्थामा शवहरू भेटिएको सूचना तथा समाचारहरूले गम्भीर आशंका सिर्जना गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सिंगो दलित समुदायलाई स्तब्ध बनाउने घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्