Logo
Logo

संक्रमितको बिचल्लीः आईसीयूमा ३२ बिरामीका लागि दुई जना मात्रै नर्स


दृष्टि संवाददाता



रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा मनिटरबाट देखिएको आईसीयू कक्ष र बिरामीहरु । तस्बिर – कान्तिपुर

रुपन्देही, दाङ । लुम्बिनी प्रदेशमा बाँकेपछि रूपन्देही संक्रमणको केन्द्र बनेको छ । यहाँका बुटवल, तिलोत्तमा र सिद्धार्थ नगरमा धेरै संक्रमित छन् ।

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत धागो कारखाना र भैरहवास्थित भीम अस्पताललाई कोरोना विशेष घोषणा गरिएको छ । दुवै अस्पताल भरिएका छन् ।

बेड अभावमा भुँइमा राखेर उपचार गर्नुपर्ने बाध्यता छ । नयाँ संक्रमितले भर्ना नपाउँदा बिचल्ली छ । कतिपय बिरामीले बेडको प्रतीक्षा गर्दागर्दै अस्पतालको फिभर क्लिनिक र आपतकालीन कक्षमै प्राण त्यागेका छन् । केहीको अस्पतालबाट फर्किएर घर पुगेपछि मृत्यु भएको छ ।

कोरोना अस्पतालमा स्वास्थ्य पूर्वाधार र सामग्रीको अभाव छ । पहिलो लहरमै ‘हटस्पट’ बनेको जिल्लामा दोस्रो लहरसम्म आइपुग्दा पनि संघीय र प्रदेश सरकारले पूर्वाधार थप्न चासो दिएनन् । प्रदेश सरकारले पूर्वाधारमा लगानी गर्ने निर्णय गरे तर कार्यान्वयन भएन । भीम अस्पतालमा बहिरंग सेवा स्थगन गरेर कोरोनाको उपचारमा केन्द्रित गरिएको छ ।

अस्पतालमा सुविधायुक्त बेड जडान गरिएका छन् । आईसीयू र भेन्टिलेटर वार्ड छन् तर संक्रमितको उपचारका लागि फिजिसियन चिकित्सकको अभाव छ, जसले गर्दा त्यहाँ गम्भीर बिरामीको उपचार भइरहेको छैन । कोरोना संक्रमितको उपचारका लागि एक जना कोभिड फोकल पर्सन, चार मेडिकल अफिसर, एक जना एनेस्थेसियन र १४ नर्स खटिएका छन् ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले चिकित्सक र नर्सको पदपूर्तिका लागि आवेदन माग गरे पनि कोही नआएको बताए । ‘पूरै अस्पताललाई कोरोना उपचारका लागि प्रयोग गरौं, अझै एक सय बेड थपौं, जनशक्ति दिनूस् भनेर माग गरेका थियौं, थाकिसक्यौं,’ उनले भने, ‘मानिसको ज्यान गइरहेको विषयमा संवेदनशीलता नै देखिएन ।’ उनले अस्पतालमा अक्सिजन आपूर्ति हुने पाइपलाइनको केही भागमा अहिले समस्या आएको र त्यसका लागि सामग्री र मर्मत गर्ने मान्छे नपाएको सुनाए । ‘अक्सिजनको माग बढिरहेका बेला पाइप बिग्रेर समस्या भयो,’ उनले भने, ‘यस्तो बेला अक्सिजन मौज्दात भए पनि बिरामीलाई दिन नसकिने हो कि भन्ने चिन्ता भइरहेको छ ।’, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्