Logo
Logo

प्रेमिकाको हत्या आरोपमा नेकपामा नेता पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २६ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता योगेन्द्र गुरुङले प्रेमिका हत्या आरोपमा पक्राउ परेका छन्। फागुन १७ गते शुक्रबार रातिदेखि हराइरहेकी मोरङको बेलबारी नगरपालिका–४ की २६ वर्षीया रमिला राईको उनले हत्या गरेको खुलेको छ । हत्या गरी शव गायव बनाउन कोसी ब्यारेजको पुलबाट नदीमा फालेको प्रहरीले जनाएको छ ।


हत्याको आरोपमा पत्राmउ परेका गुरुङ संलग्न एमाले बेलबारीका पूर्वअध्यक्षसमेत हुन् । गुरुङले दिएको बयानका आधारमा दुई दिनदेखि लगातार प्रहरीले कोसी नदी आसपासमा खोजतलासलाई व्यापक बनाए पनि शव भने फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। ‘हत्या हुँदा शव फेला पर्नुपर्ने हुन्छ। कोसी नदीमा फालेको बताएका कारण खोजीलाई निरन्तरता दिने काम भइरहेको छ,’ केसीले भने, ‘घटनामा अरु प्रमाण पनि जुट्नुपर्छ। सबै प्रमाण संकलन गरेर घटनासँग जोड्दै अनुसन्धान गर्ने काम भइरहेको छ।’ नदीले बगाइसकेका कारण पनि शव नभेटिएको हुन सक्ने उनले बताए।

महिला हराएको केही दिनमै गुरुङ समेत बेलबारी छाडेर बेपत्ता बनेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो। त्यसै क्रममा भागेर इलाम पुगेका बेला गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हत्यापछि यही गाडीमा शव राखेर नदीसम्म पु¥याएको प्रहरीको दाबी छ। बेपत्ता भएकै राति हत्या गरेर शव गायव बनाउन कोसी नदीमा फालिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। महिला हराएको राति दुवैजना सँगै रहेको र महिला घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई गुहारेका थिए।

महिला बेपत्ता भएपछि गुरुङलेसमेत इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर आफ्नी ‘गर्लफ्रेन्ड’ हराएकाले तनाब भएको बताएका थिए। हत्या गरिएकी महिला पहिलेका श्रीमानसँग सम्बन्ध विच्छेद गरेर माइतीमै बस्दै आएको खुलेको छ। उनकी एक छोरी छन्। गुरुङका भने श्रीमती र दुई छोराहरु काठमाडौंमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्