Logo
Logo

निषेधाज्ञा संगै उपभोग्य वस्तुको मुल्य अकासियो



काठमाडौं । दोस्रो चरणको कोरोना महामारी संगै उपभोग्य बस्तुमा कालोबजारी सुरु भएको छ । सरकारी निकायको प्रभावकारी बजार अनुगमन नहुँदा व्यापारीहरुले त्यसको फाइदा उठाउँदै बजारमा अत्यवाश्यक स्वास्थ्य सामग्री र दैनिक उपभोग्य खाद्य वस्तुमा कालोबजारी गर्न थालेका हुन् ।

कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि व्यापारीले कोरोना पीडितको उपचारको लागि अत्यावश्यक औषधी रेम्देसिभिर र अक्सिजनमा कालोबजारी गर्न थालका छन । दुई रुपैयाँ पर्ने सर्जिकल मास्कको १० रुपैयाँ सम्म लिने कार्य सुरु भइसकेको छ ।

कोरोना पिडितको उपचारको लागि प्रयोग हुने ५ हजार रुपैया सम्ममा पाउने गरेको रेम्देसिभिरलाई ब्यापारीहरुले २५ हजार रुपैयाँ सम्म लिने गरेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेम लाल महर्जनले बताएका छन् ।

ठुला व्यापारी तथा व्यवसायीको पहुँच माथिल्लो निकायसम्म रहेको कारण महामारीको संकटमा अत्यावश्यक सामग्रीमा कालोबजारी मौलाएको हो । दैनिक उपभोग्य खाद्य वस्तु देखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा व्यापारीहरुले कृत्रिम अभाव देखाएर कालोबजारी गर्ने गरे पनि सरकारले कारबाही गर्न सकेको छैन ।

निषेधाज्ञापछि चिनी, खाने तेल, दाल गेडागुडी लगायतका खाद्य वस्तुमा अस्विभावीक मुल्य बृद्धि भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक बजार अनुगमन पनि गर्दै आएको दाबी गरेको छ । तर कारबाहीको अवस्था नगण्य छ ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ठुला व्यापारी र उत्पादकको मिलेमतोमा एक सातामा खाद्य वस्तुको मुल्य बढाउने गरेका छन् । दुई दिन अघि मात्रै २ सय ५० रुपैयामा पाउने सनफलावर तेलको २ सय ८० पुगीसकेको छ । ८० रुपैयामा पाइने चिनी १ सय रुपैया पुगीसकेको छ । दैनिक खाद्य वस्तु दाल, गेडागुडी चना कुराउ, मास, मुसुरो लगायतका सबै वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ मुल्य बढेको छ ।

तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले भने बजारमा खाद्य वस्तु पर्याप्त रहेको बताएकी छिन् । उनले नुन तेल, चिनी, दाल, गेडागुडी चामल लगायतका सबै खाद्य वस्तु पर्याप्त रहेको कारण कृत्रिम अभाव गर्नुपर्ने अवस्था नरहेको बताएकी छिन् ।

त्यसोत वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभागसँग भएको जनशक्ति अनुसार दैनिक बजारको अनुगमन गरी रहेको बताएको छ । उनले अनुगमनका क्रममा अनुचित व्यापार गर्नलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गर्ने र गरीरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्