Logo
Logo

नेता सत्ताको खेलमाः भुइँमा छट्पटिदै संक्रमित !




भैरहवा । अस्पतालका शैय्या भरिएका छन्। संक्रमित अस्पताल बाहिर छट्पटिदै छन्। आफन्तको रुवाबासी छ। उपचारका लागि गुहार गर्दैछन्। कोही संक्रमितलाई ह्विलचेयर बसालेर डुलाउँदै छन्।

अक्सिजन सकिएर कोही सिलण्डर गुडाएर लग्दैछन्। भारतकै यस्तो दृश्य हामीले टेलिभिजनमा केही दिनअघिसम्म हेर्दै आएका थियौँ। तर, यो दृश्य भारतको नभई भैरहवाको हो। रुपन्देही जिल्लामा संक्रमणको अवस्था विकराल भइसकेको छ।

संघीय र प्रदेश सरकार राजनीतिमा व्यस्त छ भने स्थानीय सरकारहरुलाई वास्तै छैन। जिल्लामा संक्रमणको रोकथामका लागि निषेधाज्ञा लगाइएको छ। तर, प्रशासनले स्वास्थ्य मापदण्ड पालना गर्ने नाममा सबै किसिमका उद्योग र सार्वजनिक गाडी संचालनमा छुट दिँदा संक्रमण झनै फलिएको छ। जसको परिणाम सर्वसाधारण संक्रमित भएर ज्यान गुमाउनु परेको छ।

अवस्था यति भयावह छ संक्रमण फैलिनुका साथै सर्वसाधरणले भटाभट ज्यान गुमाउन थालेका छन्। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा जारी निषेधाज्ञाको अवधिको सात दिनमा मात्र ५२ जना संक्रमितले ज्यान गुमाएका छन् भने ३ हजार सात सय ४२ जना संक्रमित भएका छन्। जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५५ पुगेको छ भने २ सय ३३ जनाको मृत्यु भएको छ।

कोभिड अस्पतालका शैय्याहरु भरिएका छन्। एउटा शैय्याका लागि संक्रमित छट्पटिनु परेको छ। उपचारको अभावमा मृत्युवरण गर्नेको संख्या बढ्न थालेको छ। रुपन्देहीमा भारतको दिल्लीको अवस्था देखिन थालेको छ।

भैरहवाको सरकारी भीम अस्पतालमा शैय्याको अभावमा संक्रमितको उपचार समस्या देखिएको छ। अस्पताल आएका संक्रमितको उपचारका लागि शैय्या अभाव भएपछि भुइँमै अक्सिजनको सहारा लिएर बस्नुपर्ने बाध्यता छ। निजी अस्पताल संक्रमितको उपचारमा आनाकारी गरिरहेका छन्। कतै भनसुन गरेर भर्ना गरे पनि मनपरी शुल्कले ढाँड सेक्दै छन्।, यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्