Logo
Logo

आजदेखि ५६ जिल्लामा निषेधाज्ञा



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञाको नियम थप कडा पारिन थालिएको छ ।

आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५६ पुगेको गृह मन्त्रालयले उल्लेख गरेको छ ।

स्थानीय प्रशासनमार्फत पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू भएको हो । गृह मन्त्रालयका अनुसार ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।

बिहीबारदेखि बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको हो ।

सिन्धुपाल्चोकमा ठूला राजमार्गको दायाँ बायाँ पाँच–पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ भने चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११ बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले संक्रमित संख्याका आधारमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएको छ ।

उपत्यकामा थप कडाई
काठमाडौं उपत्यकामा दोश्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म जारी निषेधाज्ञा थप कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासका बारेमा भएको अस्पष्टतालाई स्पष्ट पारेको छ ।

प्रशासनले विवाह र ब्रतबन्धका लागि १५ जना व्यक्ति र २ वटा सवारी साधन प्रयोग गर्न पाउने उल्लेख गरेको छ ।

विवाह र ब्रतबन्ध गर्दा १५ जनासहित २ वटा सवारी साधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्ने पाउने प्रशासनद्वारा बुधवार जारी सूचनामा उल्लेख छ ।

बिरामी तथा कुरुवाहरूको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भै काठमाडौं बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड, भर्ना कार्ड र परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्