Logo
Logo

दाङमा कोरोना सङ्क्रमितको संख्या बढ्दै



दाङ । दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररूपमा बढिरहेको छ । मृत्यु हुनेको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दै गएको देखिएको हो ।

बुधबारसम्म दाङमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार हाराहारीमा छ । सक्रिय सङ्क्रमित थपिने क्रम हरेक दिन बढ्दो छ । त्यस्तै जिल्लामा कोरोना भाइरसको सङक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९७ पुगेको छ ।

चिकित्सकहरु भन्छन्– ‘यसपटकको कोरोना भाइरस गतवर्षको भन्दा कडा खालको देखिएको छ र यसले तत्कालै तथा गम्भीर रुपमा असर गर्ने गर्दछ ।’
भाइरसले अन्य रोग भएका सङ्क्रमितलाई निकै सताउने गरेको छ । सङ्क्रमण भएको १४ दिनमा लक्षणहरु विस्तारै घट्दै जानुपर्ने भनिए पनि यहाँका कतिपय सङ्क्रमितहरुले त्योभन्दा पनि लामो समयसम्म सास फेर्न गाह्रो हुने, खोकी लागिरहने भइरहेको बताएका छन् ।

त्यसो त यहाँ कोरोनालाई जित्नेहरु पनि बढ्दै छन् । दोस्रो चरणमा सङ्क्रमित भएकाहरुमध्ये धेरैजना कोरोना जितेर घर फर्किसकेका छन् । मङ्गलबार मात्रै यस जिल्लाका १९६ जनाले कोरोना जितेका छन् । उनीहरुले अवस्था सामान्य रहेको बताएका छन् ।

दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुँदा विरामीलाई समस्या हुने गरेको छ । अस्पतालका व्यवस्थापक द्रोण वलीले एक सय शय्या रहेको सो अस्पतालमा हालसम्म ५७ जना बिरामी उपचाररत रहेको र अक्सिजनको सहज उपलब्धता नहुँदा समस्या हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्