Logo
Logo

अस्पतालमा बेड भरिएपछि बरन्डामै संक्रमित




शिक्षण अस्पतालभित्र बेड नपाएर बिहीबार राति बरन्डामै अक्सिजन लिइरहेका बिरामी । तस्बिर : नयाँ पत्रिका

काठमाडौं । कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका बेड भरिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले बिरामीलाई बरन्डामै राखेर उपचार गर्न थालेको छ । बिहीबार केही बिरामीलाई बरन्डामै अक्सिजन दिएर राखिएको छ । नजिकै अरू बेड पनि तयारी अवस्थामा छन् ।

अस्पतालका कोभिड संयोजक डा। सन्तकुमार दासले अहिलेको संरचनाले धान्नै नसक्ने गरी बिरामी बढेकाले बरन्डामा पनि बेड विस्तार गर्नुपरेको बताए । ‘बिरामीको लोड थाम्नै नसक्ने अवस्था छ । भित्र भर्ना गर्न नसकेर बाहिरै राखिएको हो । बाहिरै भए पनि बिरामीलाई कम्तीमा अक्सिजन व्यवस्थापन गर्न सकिएको छ,’ उनले भने ।

शिक्षण अस्पतालको इमर्जेन्सीमा पछिल्लो समय प्रत्येक दिन ६०–७० जना बिरामी आउने गरेका छन् । डा। दासका अनुसार बिहीबार दुई सय ५० संक्रमित भर्ना भएका छन् । केही बिरामी बेड नपाएर कुरिरहेको उनले बताए । ‘बिहीबार साँझसम्म बेड नपाएर कुरिरहेका १४–१५ जना बिरामी छन्,’ उनले भने ।

शिक्षण अस्पतालमै ‘सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल’ सञ्चालन गर्न निर्माण गरेको खाली भवनलाई कोरोनाका बिरामीको उपचारमा प्रयोग गर्ने तयारी छ । तर, यता बिरामी बरन्डामा राख्नुपर्ने अवस्था आइसक्दासमेत खाली भवन व्यवस्थापनमा भने ढिलासुस्ती भइरहेको छ ।

उता टेकु अस्पतालको इमर्जेन्सी पनि संक्रमितले भरिएको छ । पाँच बेड राख्न मिल्ने इमर्जेन्सीमा ठेलमठेल गरेर २६ बेड राखिएका छन् । आइसियूमा राखेर उपचार गर्नुपर्ने बिरामीलाई तीन दिनदेखि इमर्जेन्सीमै ‘होल्ड’ गरेर राखिएको छ ।

काभ्रेमा निर्माणको काम गर्दै आएका निरलाल चौधरीको शरीरमा अक्सिजन लेभल निकै कम भएपछि मंगलबार राति नै टेकु अस्पताल पु¥याइएको थियो । उनलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ, तर बेड खाली नभएका कारण तीन दिनदेखि इमर्जेन्सीमै ‘होल्ड’ गरिएको छ ।

निरलाललाई गत हप्ता नै कोरोना पुष्टि भएको थियो । सुरुका केही दिन काभ्रेमै उपचार गरिए पनि स्वास्थ्य बिग्रँदै गएपछि काठमाडौं ल्याइएको हो । ‘काठमाडौंमा जानेजतिका सबै अस्पतालमा बेड खोज्यौँ । कतै नभेटिएपछि टेकुमा ल्याएको । यता इमर्जेन्सीमा पनि बेड पाउन मुस्किल भयो, आइसोलेसनको त के आस गर्नु ?’ कुरुवा बसेका रामभजन देवले भने ।, यो समाचार आजको नयाँ पत्रिकामा मञ्जु टेलरले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्