Logo
Logo

ओली हटाउने विकल्प: संसदमा संख्या पुर्‍याउने वा निर्वाचनबाट विस्थापन गर्ने



आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि संघीय संसद्को संयुक्त अधिवेशन आह्वान भइसक्नुपर्ने हो । तर, सत्तारूढ दलभित्रको आन्तरिक खिचातानी बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले नियमित अधिवेशन बोलाउन कुनै चासो दिएनन् बरु वैशाख २७ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिन निर्णय गरे ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद्को विशेष अधिवेशन आह्वान गरेकी छिन् । ओलीलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी दलले स्पष्ट बहुमत जुटिनसकेको भन्दै अविश्वास प्रस्ताव राख्न सकेका थिएनन् ।

त्यति मात्र होइन ओली नेतृत्वको सरकार विस्थापित गरिछाड्ने बताउँदै आएको माओवादीले समर्थन फिर्तासमेत लिएको थिएन । सरकारलाई दिएको समर्थन फिर्ता लिँदा ओली नेतृत्व सरकारको विकल्प संसद्ले दिन पनि नसक्ने र फेरि प्रतिनिधिसभा विघटन हुनसक्ने भय माओवादी नेताहरूमा देखिएको थियो ।

प्रमुख प्रतिपक्षीले ओली नेतृत्व सरकारको विकल्प खोज्ने केन्द्रीय समितिबाट निर्णय गरेपनि त्यसका लागि स्पष्ट संख्या नदेखिएको जनाउँदै आएको छ । सत्ता साँचो बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरू ओली नेतृत्व सरकारलाई निरन्तरता दिने वा विकल्प खोज्ने भन्नेमा एकमत देखिएका छैनन् ।

यहीबीचमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय लिएका छन् । त्यो पनि उनकै पार्टी नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका दुई दर्जनभन्दा बढी सांसदले समर्थन नगर्ने स्पष्ट संकेत गरिरहेका छन् । यही बेला किन ओलीले विश्वासको मत लिने बाटो रोजे ?

प्रधानमन्त्री ओली संसद्मा आफ्नो पक्षमा बहुमत जुट्नेमा ढुक्क नरहेको निकटहरू बताउँछन् । तर, आफ्नो विकल्पमा नयाँ सरकार गठन हुने स्पष्ट आधार नभएको विश्लेषणमा रहेका ओली आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गराउन चाहन्छन् ।

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सही सावित गराउने रणनीतिमा रहेका उनी बजेट ल्याउनुपूर्व नै विश्वासको मत लिने र आफ्नो पक्षमा बहुमत नजुटे अध्यादेशबाटै बजेट ल्याउने रणनीतिमा छन् । संविधानको धारा ७६ (२) अनुसार अर्को सरकार गठन नहुँदा संविधानको धारा ७६ (३) मात्र होइन ५ र ६ अनुसार सरकार गठन हुने अवस्था नरहेको विश्लेषमा रहेका ओलीले मंसिरमा आफ्नै नेतृत्व चुनाव गराउने तयारीमा छन्यो । समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्