Logo
Logo

राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, अझै टुंगो लागेन ओली पक्षको उम्मेदवार



काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज (शुक्रबार) मनोनयन दर्ता हुँदैछ । दलहरूले आज जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन गर्नुपर्नेछ ।

बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्वाचन आयोगले दिएको छ। उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने तयारी छ।

२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।

वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । तर सत्तारुढ नेकपा एमालेले भने उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन ।

खाली भएको यो क्षेत्रमा एमालेले बादललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ भने बादल जितको ग्यारेन्टी नभएसम्म उम्मेदवारी नदिने अडानमा रहेको बुझिएको छ ।

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

आयोगका अनुसार राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्