Logo
Logo

ओली र नेपालबीच टेलिफोन संवाद



काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवाद भएको छ ।

ओली र नेपालबीच विहीवार टेलिफोनमा कुराकानी भएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको भनाई छ । आज पनि नेताहरुबीच औपचारिक अनौपचारिक छलफलपछि राष्ट्रियसभाको उम्मेदवारबारे निर्णय हुने नेता नेम्वाङले बताएका छन् ।

‘अहिले प्रधानमन्त्रीज्यू छलफलमै हुनुहुन्छ । हिजो माधव कमरेडसँग उहाँले टेलिफोनमा कुरा गर्नुभएको छ । नेताहरुबीच कुराकानी भइरहेको छ । एउटा विन्दूमा पुगेर पार्टीलाई मिलाउनै पर्छ ।’ नेम्वाङले भने ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली आज पनि विहानै देखि आफू निकट र अन्य नेताहरुसँग छलफलमा छन् । स्थायी कमिटीको औपचारिक बैठक विहीवारै बसेकाले अनौपचारिक छलफल भइरहेको हो ।

एमाले विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय रहेका छन् । यसबीच ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच आजै निर्णायक संवाद गराउन केही नेता लागेको स्रोतको भनाई छ ।

महासचिव ईश्वर पोखरेल र संगठन विभाग प्रमुख विष्णु पौडेलले बुधवार र विहीवार माधव नेपाल पक्षका नेताहरुसँग छलफल गरेका थिए । बिष्णु पौडेल र सुवास नेम्वाङले ओली र नेपालबीच पनि संवाद प्रयास गरिरहेको बताइन्छ ।

मिल्नका लागि माधव नेपालले ओलीलाई कार्यसूचीसहित वार्ता हुनुपर्ने बताएका छन् । अब मिल्न बाँकी भनेको २०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी बैठक बस्ने कि माओवादीबाट एमाले भएका नेताहरुसहितको बैठक भन्ने रहेको वार्तामा सहभागी नेताहरुको भनाई छ ।

वार्तामा सहभागी नेताहरुको भनाई अनुसार पार्टी एकता जोगाउन ओली र नेपाल दुवै पक्षका नेताहरु सक्रिय भएका कारण केही दिनमा सकारात्मक ढंगले एमालेको विवाद टुंगिने अपेक्षा गरिएको बताइन्छ ।

एमाले विवाद मिलाउन राष्ट्रपति विद्या भण्डारीले समेत पार्टी एकताको लागि पहल गरेको बताइन्छ । विहीवार राष्ट्रपतिले ओली र नेपालसँग अलग अलग छलफल गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्