Logo

भरतमोहनको यो पक्ष पनि


Published On : 12 March, 2019


मैले नेता भरतमोहन अधिकारीसँग अत्यन्त निकट रहेर २०५१ सालदेखि काम गर्दा उहाँका अर्थतन्त्र बारेको सोच, बर्गीय पक्षधरता र शासकीय शैलीका अतिरिक्त अन्य पक्षका गतिबिधिहरुको बारेमा पनि निकटबाट जान्ने मौका पाँए । ती पक्षहरुलाई अहिले पछाडि फर्केर हेर्दा के लाग्दछ भने उहाँलाई पार्टीले दिएको जस्तोसुकै जिम्मेवारीलाई पनि अत्यन्त गम्भिर ढंगले लिने र त्यसलाई सर्बोत्तम ढंगले सम्पन्न गर्ने उहाँको सबैले अनुकरण गर्नु पर्ने गुण थियो । उहाँलाई दिईएका जिम्मेवारीलाई उहाँले कहिल्यै पनि आधा मनले गर्ने, अधकल्चो रुपमा छोढ्ने वा गुणस्तरहीन ढंगले गर्ने गर्नु भएन । उहाँको त्यो बिशेषता उहाँ सचेत रहिन्जेलसम्म कायम रह्यो ।
२०४८ सालको पहिलो संसदीय निर्वाचनपछि एमाले पार्टी प्रमुख प्रतिपक्षमा रह्यो । त्यो निर्बाचन पछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको नेपाली काँग्रेसको सरकारले गरेका सर्बसत्ताबादी गतिबिधिहरुको बारेमा पार्टीले मूल्यांकन गर्ने निर्णय गर्यो र पार्टीले त्यो जिम्मेवारी उहाँलाई दियो । त्यो जिम्मेवारीलाई उहाँले हामीहरुलाई संलग्न गराएर यसरी निभाउनुभयो, कि त्यसको बिस्तृत प्रतिबेदनलाई पार्टीले प्रकाशन गरी जनता माझ लैजाने निर्णय गर्यो ।

२०५४ सालमा पार्टी विभाजन हुँदा र २०६४ को पहिलो संविधान सभाको निर्बाचन पछि पार्टी तेश्रो र सानो पार्टीको रुपमा झर्दा पार्टीलाई साधन जुटाउनु ठूलो चुनौती थियो । त्यस्तो कठिन अबस्थामा पनि उहाँको कार्यकुशलता र समर्पणभावले पार्टीलाई आर्थिक संकटमा पर्न दिनु भएन । पार्टीका गतिविधिहरु पूर्ववत नै सञ्चालन भए । पार्टीको लागि त्यो चानचुने योगदान होइन ।

उहाँ पार्टीमा सकृयरुपमा नेतृत्वमा रहँदा मुख्य रुपमा पार्टीको आर्थिक विभाग र अर्थ तथा योजना विभागको प्रमुखको जिम्मेवारी बहन गर्नु भयो । आर्थिक विभागले पार्टी सञ्चालनको लागि साधन जुटाउने र खर्च गर्ने काम गर्दथ्यो भने अर्थ तथा योजना विभागले देशको अर्थतन्त्र, देशको आबधिक योजना र सरकारको बजेटको मुल्यांकन, अर्थतन्त्र सञ्चालनको नियमित रुपमा अनुगमन र मुल्यांकन गर्ने गर्दथ्यो । उहाँको नेतृत्वमा यी दुवै विभागका काम अव्वल रुपमा भएका थिए । पार्टी लामो समयसम्म प्रतिपक्षमा रहँदा पार्टी सञ्चालनको लागि साधन जुटाउने काम चुनौतीपूर्ण हुन्थ्यो । तर उहाँले पार्टीलाई कहिल्यै पनि साधनको अभावमा पार्टी गतिबिधि खुम्चिनु पर्ने अबस्था आउन दिनु भएन । सामान्य अबस्थामा मात्र होईन आम निर्बाचनको बेलामा पनि खर्च जुटाउने जिम्मेवारी उहाँलाई नै दिईन्थ्यो र परिचालित साधन कसैले गुनासो गर्न नपर्ने गरी न्यायपूर्ण ढंगले पार्टीका उम्मेदवारहरुलाई बितरण गर्नु हुन्थ्यो । उहाँमा व्यवस्थापन क्षमता यति अव्वल थियो कि पार्टीको नवौं महाधिवेशनअघिका धेरै महाधिवेशनको मुल व्यवस्थापन समितिको संयोजकको जिम्मेवारी पार्टीले उहाँलाई नै दिन्थ्यो र ती सबै जिम्मेवारी सहयोगिहरुलाई परिचालन गरेर अव्वल ढंगले निभाउनु भयो । अहिले त पार्टीका सांसदहरुको संख्या ठूलो भएकोले साधन अभावको त्यस्तो चुनौती नहोला । तर, २०५४ सालमा पार्टी विभाजन हुँदा र २०६४ को पहिलो संविधान सभाको निर्बाचन पछि पार्टी तेश्रो र सानो पार्टीको रुपमा झर्दा पार्टीलाई साधन जुटाउनु ठूलो चुनौती थियो । त्यस्तो कठिन अबस्थामा पनि उहाँको कार्यकुशलता र समर्पणभावले पार्टीलाई आर्थिक संकटमा पर्न दिनु भएन । पार्टीका गतिविधिहरु पूर्ववत नै सञ्चालन भए । पार्टीको लागि त्यो चानचुने योगदान होइन ।
त्यसैगरी सरकारले आबधिक योजना जारी गरेपछि र बार्षिक बजेट प्रस्तुत गरेपछि त्यस्को गहिरो अध्ययन गरेर त्यस्को प्रतिबेदनको निष्कर्ष पार्टी नेताहरुलाई ब्रिफिङ्ग गर्नुको अतिरिक्त कहिले पत्रकार सम्मेलन गरेर र कहिले बिज्ञप्ती जारी गरेर पार्टीको धारणा सार्वजनिक गर्ने परम्परा उहाँले सुरु गर्नु भएको थियो । अर्थतन्त्रमा उतारचढाव आउँदाको बखत पनि विभागले परिस्थितिको अध्ययन गरेर पार्टीका नेताहरुलाई नियमित रुपमा ब्रिफिङ गर्ने गर्दथ्यो र पार्टीको धारणा प्रेस बिज्ञप्तीमार्फत सार्वजनिक गर्ने गर्दथ्यो । यी गतिबिधिहरुबाट पार्टी तत्कालीन आर्थिक अबस्थाको बारेमा जानकार रहन्थ्यो र पार्टीका धारणा पनि सार्वजनिक भईरहनुका साथै पार्टीको आर्थिक नीति पनि समयानुकुल रुपमा परिमार्जन हुदै गएको थियो ।
त्यतिखेरको अर्थ तथा योजना विभागको अर्को महत्वपूर्ण उपलब्धि पार्टीको भिजन २०२० तयार गर्नु थियो । पार्टीका तत्कालीन महासचिव र बर्तमानमा नेकपाका बरिष्ट नेता माधब कुमार नेपालको पहलमा पार्टीले भिजन २०२० तयार गर्ने काम सुरु भयो र त्यसको जिम्मेवारी भरतमोहन अधिकारीलाई दिईयो । उहाँको नेतृत्वमा गठित मूल समिति र दर्जनौ क्षेत्रगत उपसमितिहरु निर्माण गरी ती उपसमितिअन्तर्गत ३०० जनाभन्दा बढी बिषय बिशेषज्ञहरु परिचालन गरी दुई वर्ष लगाएर त्यो भिजनको दस्तावेज तयार भयो । त्यसलाई पार्टीले अनुमोदन गरी त्यस्लाई भव्य समारोहकाबीच सार्वजनिक गरियो । भिजन निर्माणको सफलता उहाँको नेतृत्वको अर्थ तथा योजना विभागको महत्वपूर्ण उपलब्धि थियो । तर निरन्तरको राजनीतिक अस्थिरता र एक दशक लामो द्वन्द्वका कारण त्यो भिजन कार्यान्वयन्मा आउन पाएन । तर त्यो भिजन तयार गर्ने क्रममा दुई वर्षसम्म उहाँको नेतृत्व र मार्ग दर्शनमा हामीले जुन मेहनत गर्यौं त्यो अबिस्मरणीय छ ।

राजनीतिलाई यति निष्ठुर र अविवेकी बनाइएको छ कि पार्टीभित्रैबाट उहाँलाई उमेर धेरै भएको कारण देखाई रिटायर्ड हुन दबाब दिइयोे । त्यही कारणले नवौं महाधिवेशनमा उहाँले कुनै आधिकारिक पदमा नबस्ने घोषणा गर्नुभयो । आठौं महाधिवेशनमा पनि उहाँलाई पहिले पार्टीको उपाध्यक्ष पदमा चुनाव लड्न भनियो तर उम्मेदवार बनिसकेपछि समर्थन फिर्ता लिएर हराइयो । अहिले पार्टीले सुविधाजनक बहुमत ल्याएर सत्तामा गएका बखत आफ्ना प्रधान मन्त्रीलाई भेटेर केहि सुझाव दिन अनेक प्रयत्न गर्दा पनि प्रधान मन्त्रीलाई भेट्नसम्म नपाउँदा उहाँले साह्रै चित्त दुखाउनु भएको थियो । चित्त दुखाएरै उहाँले यस संसारबाट सदाका लागि बिदा लिनुभयो ।

उहाँको जिम्मेवारीलाई गम्भिरतापूर्बक लिने र त्यसको सफल कार्यान्वयनमा अनबरत रुपमा लागिरहने प्रबृत्तिको अर्को अनुपम उदाहरण मनमोहन स्मृति प्रतिष्ठान र त्यस अन्तर्गतको मनमोहन पोलिटेक्निकको आजको विकसित रुप हो । एमालेको पहिलो सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीको देहान्तपछि पार्टीले मनमोहन स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय गर्यो र त्यस्को अध्यक्षमा भरतमोहनलाई नियुक्त ग¥यो । प्रतिष्ठानलाई हरिप्रसाद शर्मा काफ्लेबाट सानेपामा नवनिर्मित भवन प्राप्त भएको थियो । त्यहाँ मनमोहन म्युजियम स्थापना गरियो । प्रतिष्ठानले प्रत्येक वर्ष मनमोहन स्मृति दिवसको दिन प्रतिष्ठानको कार्यालयमा भव्यरुपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । र, त्यसै अवसरमा प्रतिष्ठानले देशका विभिन्न जिल्लाका प्रतिनिधि ज्येष्ठ नागरिकहरुलाई देश दर्शनको लागि भ्रमणमा लैजाने कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
त्यसको अतिरिक्त प्रतिष्ठानले मोरङ जिल्लाको हात्तिमुढामा एक भव्य पोलिटेक्निक इन्स्टिच्युटको सञ्चालन गरिरहेको छ । पोलिटेक्निकको आफ्नै बाइस बिघा जमिनमा भारतीय सहयोगमा कक्षाहरु सञ्चालन गर्ने भवनहरु, प्रशासकीय भवन, पुस्तकालय भवन, अतिथि गृह, छात्रावास भवनहरु, मनमोहन स्मृति भवन, क्याफ्टेरिया आदि निर्माण भएका छन् । त्यहाँ बिगत एक दशकदेखि बिभिन्न बिषय र स्तरमा प्राबिधिक बिषयहरु अध्यापन भईरहेको छ । त्यस पोलिटेक्निकबाट अहिलेसम्म हजारौ विपन्न वर्गका युवाहरुले प्राबिधिक शिक्षा पाई रोजगारीमा रहेका छन् । यो पोलिटेक्निक बिगत केही वर्षदेखि लगातार नेपालको उत्कृष्ट पोलिटेक्निकको रुपमा रेटिङ हुँदै आएको छ । यो पोलिटेक्निकको स्थापना, सञ्चालन र यसको भव्य भौतिक संरचनाको विकास भरतमोहन त्यसको नेतृत्वमा रहेको कारणबाट नै सम्भव भएको हो । यसरी जिम्मेवारीलाई उत्कृष्ट ढंगले बहन गर्ने उहाँको बिशेषताको यो अर्को ज्वलन्त उदाहरण हो ।
उहाँ २४सै घण्टा देशको राजनीतिक तथा आर्थिक अवस्थाको बारेमा चिन्तलशील रहने गरेको मैले पाएँ । त्यो बाहेक उहाँको अन्य कुनै काम हुँदैनथ्यो । मनोरन्जन र रमाईलो गर्ने उहाँको बानी मैले पाईन । त्यसैले त्यति व्यस्त दिनचर्याका बाबजुद पनि उहाँले किताबहरु प्रकाशित गर्न भ्याउनु भयो । उहाँको नेपालमा औद्योगिक विकासको सम्भावना शीर्षकको पहिलो किताव साँच्चिकै पठनीय छ । त्यही भएकोले सीमित कार्यकर्ता भएको नेकपा (माक्र्सबादी) तर्फबाट आउनु भएको भएतापनि उहाँ एमाले पार्टीमा सबैभन्दा धेरै पटक र उपप्रधान मन्त्री तथा ४÷४ पटक अर्थ मन्त्री बन्न सफल हुनु भयो । यो चानचुने राजनीतिक सफलता होइन । मैले उहाँले पार्टीभित्र कुनै एउटा नेताको पक्षमा लागेर अर्को कुनै नेताको बदख्वाई गरेको कहिल्यै सुनिन । उहाँ जहिले पनि ठूलो र सुदृढ पार्टी बनाउने काममा नै लाग्नु भयो । मिल्ने र मिलाएर अघि बढ्ने भन्ने नै उहाँको मूल ध्येय थियो ।
तर, राजनीतिलाई यति निष्ठुर र अविवेकी बनाइएको छ कि पार्टीभित्रैबाट उहाँलाई उमेर धेरै भएको कारण देखाई रिटायर्ड हुन दबाब दिइयोे । त्यही कारणले नवौं महाधिवेशनमा उहाँले कुनै आधिकारिक पदमा नबस्ने घोषणा गर्नुभयो । आठौं महाधिवेशनमा पनि उहाँलाई पहिले पार्टीको उपाध्यक्ष पदमा चुनाव लड्न भनियो तर उम्मेदवार बनिसकेपछि समर्थन फिर्ता लिएर हराइयो । अहिले पार्टीले सुविधाजनक बहुमत ल्याएर सत्तामा गएका बखत आफ्ना प्रधान मन्त्रीलाई भेटेर केहि सुझाव दिन अनेक प्रयत्न गर्दा पनि प्रधान मन्त्रीलाई भेट्नसम्म नपाउँदा उहाँले साह्रै चित्त दुखाउनु भएको थियो । चित्त दुखाएरै उहाँले यस संसारबाट सदाका लागि बिदा लिनुभयो ।

प्रतिक्रिया दिनुहोस्