Logo
Logo

रकम भुक्तानीका लागि समय थप गरिदिन आनको आग्रह



काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्टको रोकथामका लागि ७५ प्रतिशत भूभागमा निषेधाज्ञा जारी रहेको अवस्थामा सरकारलाई कर राजस्वको विवरण बुझाउनुपर्ने म्याद र कर रकम भुक्तानीका लागि समय थपिदिन नेपाल विज्ञापन संघ (आन) ले माग गरेको छ ।

संघले पत्राचारमार्फत अहिलेको परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर, आयकरको अग्रिम कट्टीलगायतका करहरूको विवरण बुझाउने र कर तिर्ने समय थप गरिदिन माग गरेको हो । कोभिड–१९ महामारीका कारण दैनिक उपभोग्यबाहेकका व्यापार–व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरूको स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा विवरण बुझाउन र कर तिर्न नसक्ने जनाएको छ ।

कोभिड–१९ ले सिर्जना गरेको अप्ठ्यारो कति लामो समय रहन्छ भन्ने अनुमान गर्न नसकिने आनले जनाएको छ । अर्थतन्त्र चलायमान बन्न नसक्दा उद्योगी–व्यवसायी, काम गरेर खाने श्रमिक कामदारहरूलगायत आमसर्वसाधारणको दैनिक जीवनयापन कठिन भएको भन्दै सरकारलाई कर तिर्ने म्याद थप गर्न आग्रह गरिएको आनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्