Logo
Logo

डण्डीफोर समस्या र घरेलु उपचार


डा. रेखा थापा


डण्डीफोर समस्या नभोगेका हामीमध्ये कमै छौं होला । विशेषगरी युवा अवस्थामा डण्डीफोर समस्याले सताउने गर्छ । युवा अवस्थामा छालामा भएको तेल ग्रन्थीले धेरै तेल (शिवम) उत्पादन गर्नु र हर्माेनमा हुने उतारचढाव नै प्रमुख कारण हो । यी कारण छालाको बाहिरी तह बाक्लो हुन्छ । त्यसैले छालाको मसिना छिद्रहरु बन्द हुन्छन् । जसले छालामा संक्रमण शुरु भइ साना–साना रातो दाना (प्यापुल्स) आउन शुरु हुन्छ ।

गर्मी मौसममा छालामा तेलको मात्रा बढ्छ । तुलनात्मक रुपमा जाडो महिनाभन्दा गर्मीमा तेल ग्रन्थीले छालामा धेरै तेल उत्पादन गर्छ र छाला चिल्लो हुन्छ । त्यस्तो अवस्थामा छालाको राम्रो सरसफाई नहुँदा छिद्रहरु बन्द हुन्छन् र त्यहीबाट संक्रमण हुन्छ । छालामा पी.एक्ने (प्रोपाइनोव्याक्टेरियम एक्ने) भन्ने व्याक्टेरिया बढ्छ र समस्या शुरु हुन्छ ।

शुरुमा ब्ल्याक हेड, ह्वाइट हेड्स, प्यापुल्सबाट शुरु भई पहेलो पिप जमेपछि डण्डीफोर हुन्छ । समयमै उपचार गरिएन भने यो समस्या बढ्छ । डण्डीफोरले प्रत्यक्ष रुपमा स्वास्थ्यमा असर नगरेपनि छाला संवेदनशील बनाई रातो हुने, स्कार तथा डार्क स्पटस्हरु छोड्ने भएकोले सुन्दरतामा असर गर्न सक्छ ।

मुख्यतया हर्माेनको उतारचढाव हुनु, वंशाणुगत गुण, छालाको सरसफाईमा ध्यान नपुग्नु, गुणस्तरहीन सौन्दर्य प्रसाधनको प्रयोग, तनाव, निन्द्रा नपुग्नु जस्ता कारण डण्डीफोर आउने गर्छ । त्यस्तै ग्यास्ट्रिक तथा पेटको अन्य समस्याले पनि डण्डीफोर आउन सक्छ ।

के कुराहरुमा ध्यान दिनुपर्छ ?
– डण्डीफोर आउँदा अनुहार पटक–पटक पखाल्नु हुँदैन । माइल्ड फेसवासले दिनमा दुईपटक मुख धुँदा राम्रो हुन्छ ।
– सफा टावेल प्रयोग गर्नुपर्छ । अरुको रुमाल प्रयोग गर्नु हुँदैन । आफ्नो छुट्टै रुमाल राख्नुपर्छ ।
– डण्डीफोरलाई जबरजस्ती फुटाउने, नङले कोट्याउने र चलाउने गर्नुहुँदैन ।
– तैलीय छालामा प्रायः मोइस्चराइजर लगाउनु हुँदैन भन्ने छ । तर यो, गलत हो । तैलीय छालाको लागि ओयल–फ्री मोइस्चराइजर प्रयोग गर्नुपर्छ । यसले छाला नरम र हाइड्रेट बनाइराख्न मद्दत गर्छ ।
– जंकफुडबाट टाढै रहनुपर्छ । तेलमा तारेको, भुटेको खानेकुरा नखादा राम्रो हुन्छ । सन्तुलित आहारमा ध्यान दिनुपर्छ ।
– जथाभावी सौन्दर्य प्रसाधन प्रयोग गर्नु हुँदैन । चिकित्सक वा सौन्दर्यविज्ञबाट सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ ।
– प्रशस्त मात्रमा पानी पिउनु पर्छ । यसले शरीर डिहाइड्रेड हुन दिँदैन । प्रशस्त पानी पिउनाले पसिना र पिसाबको माध्यमबाट विकार तत्व निस्कन्छ ।

घरेलु उपचार
स्याउ र महः
स्याउमा म्यालिक एसीड हुन्छ । जुन डण्डीफोर र तैलीय छालाको लागि फाइदाजनक हुन्छ । स्याउलाई पिसेर पेस्ट बनाउने र महसँग मिसाएर डण्डीफोर भएको अनुहारमा दैनिक लगाउँदा डण्डीफोर हट्छ । र, तेल पनि कम हुन्छ ।

निम र गुलावजलः सुकेको निमको पातलाई पिसेर धुलो बनाउने र गुलावजलमा मिसाएर प्याकको रुपमा दैनिक लगाउँदा डण्डीफोर हटेर छाला सफा हुन्छ ।

मुसुरोको दाल र दुध: मुसुरोको दाललाई मिक्स्चरमा पिसेर पिठो बनाउने र दुधमा मिसाई प्याक बनाउने र अनुहारमा लगाएर १५ मिनेटको लागि सुक्न दिने । सुकेपछि सफा पानीले धुने । यसको दैनिक प्रयोगले डण्डीफोर हट्नुको साथै डण्डीफोरको दाग पनि जान्छ ।

टी–ट्री ओयलः टी–ट्री ओयललाई डण्डीफोरमा एक थोपा लगाउँदा एक रातमै डण्डीफोर ठिक हुन्छ । टी–ट्रीमा व्याक्टेरियाविरुद्ध लड्ने क्षमता हुन्छ । त्यसैले, यसलाई औषधीको रुपमा प्रयोग गर्न सकिन्छ ।

टी–ट्री र एलोभेरा जेलः टी–ट्रीलाई एलोभेरा जेलमा मिसाएर सुत्नुभन्दा अगाडि अनुहारमा लगाउँदा अनावश्यक तेल कम हुन्छ । मसिनो–मसिनो प्यापुल्सलाई ठिक गर्छ र डण्डीफोर हटाई छाला स्वस्थ र सफा हुन्छ ।

टमाटर र कागतीः टमाटरलाई पिसेर छान्ने । त्यसमा कागतीको केही थोपा मिसाई अनुहारमा लगाएमा डण्डीफोर कम हुन्छ । र, दाग बस्न दिँदैन ।

खाने सोडा र एस्ट्रिन्जेन्ट लोसन: अनुहारमा आउने मसिनो–मसिनो रातो दाना जस्तो फोकाहरु (प्यापुल्स) (विशेष गरी गर्मी महिनामा आउने गर्छ ।) हटाउनका लागि खाने सोडामा एस्ट्रिन्जेन्ट लोसन मिसाएर दैनिक लगाउँदा डण्डीफोर कम हुन्छ ।

घर तथा भान्सामा दैनिक प्रयोग हुने सामग्रीले नियमित उपचार गर्दा डण्डीफोर ठिक हुन्छ । तर, लगातार प्रयोगगर्दा पनि कम भएन भने चिकित्सकसँग परामर्श लिन ढिला गर्नु हुँदैन । किनकी, डण्डीफोर बाहिरी कारणले मात्र नभई शरीरको भित्री तन्तुमा समस्या हुँदा पनि आउनसक्छ । त्यसका लागि समयमै सही उपचार गर्नुपर्छ ।
यसको अलवा शरीर स्वस्थ राख्न नियमित व्यायाम तथा स्वस्थ खानेकुरा खानुपर्छ । जब शरीर स्वस्थ हुन्छ तब छालामा कुनै समस्या आउँदैन ।

(लेखक कस्मेटोलोजिष्ट, एस्थेटिसियन, एरोमा थेरापिस्ट हुन् )

प्रतिक्रिया दिनुहोस्