Logo
Logo

ठूला अस्पतालहरुको शुल्कमा अनियमितता


दृष्टि संवाददाता


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न ठूला अस्पतालको अनुगमन गर्ने क्रममा शुल्कमा अनियमितता भएको जनाएको छ ।

पछिल्लो पटक अस्पतालमा शय्याको अभाव र मुल्यको अनियमिततालगायत विषयमा विभागमा आएका गुनासोका आधारमा विभागको नेतृत्वमा औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल प्रहरीको सहयोगमा उपत्यकाका ठूला अस्पतालको अनुगमन गर्दा यस्तो पाइएको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले सेवाग्राहीको गुनासोका आधारमा अस्पतालबाट पाइने उपलब्ध सेवा, लिने शुल्कलगायतमा केन्द्रित भई अस्पतालको अनुगमन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार मिनभवनमा रहेको सिभिल अस्पताल, चाबहिलमा रहेको ओम अस्पताल र मेडिकेयर, सिनामङ्गलमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी), सुकेधारामा रहेको ह्याम्स, टोखामा रहेको ग्रान्डी र मेट्रो अस्पतालमा अनुगमन गरिएको हो ।

यसअघिका दिनमा विभागले कोभिडमा केन्द्रित भएर उपचार गरिरहेका अस्पतालको अनुगमन गर्दै आएको छ । निर्देशक सेढाईंले अनुगमनका क्रममा आयातकर्ताबाट उक्त अस्पताललाई उपलब्ध गराइएको रेम्डेसिभिर औषधि पर्याप्त नभएको पाइएको बताउनुभयो ।

उहाँले अनुगमनका क्रममा ती ठूला अस्पतालले अस्पतालमा उपचाररत बिरामीका लागि प्रयोग गरेको रेम्डेसिभिर नामक औषधिको न्यून उपलब्धता, विवरण प्रद्धति प्रभावकारी नहुँदा एक अस्पतालमा सञ्चित हुँदा अर्को अस्पतालमा अभाव भएको देखिएको बताउनुभयो ।

उक्त औषधिको अधिक मूल्य पाँच हजार एक रुपियाँ लिनुपर्नेमा अधिकांशमा तोकिएको मूल्यभन्दा अधिक लिएको अनुगमनका क्रममा पाइएको पनि उहाँले जानकारी दिनुभयो ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्