Logo
Logo

ओली आत्तिए, एमाले विभाजन हुने निश्चित !


दृष्टि संवाददाता




काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको आन्तरिक विवादले नेताका दौडधुप तीव्र बनेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउन गरेको प्रयास असफल भएपछि विवाद झन् बढ्दै गएको छ । प्रधानमन्त्री ओली संसद्मा २७ वैशाखमा विश्वासको मत लिँदै छन् ।

‘पार्टी एकता जोगाउने विषयमा केही समययता हामीबीच सामूहिक तथा छुट्टाछुट्टै छलफल भइरहेको छ,’ छलफलमा सहभागी एक नेताले भने, ‘अझै केही समहमति भएको छैन, जुटाउने विषयमा केन्द्रित छौं ।’

पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सक्रिय भएको बुझिएको छ । शीर्षनेता अडानबाट टसमस नभएपछि पार्टी नै विभाजन हुने निश्चित भएपछि राष्ट्रपतिले समेत नेताबीच सहमति गराउन पहल गरिरहेको स्रोतको दाबी छ ।

राष्ट्रपति शितल निवासमा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल बोलाएर भण्डारीले छलफल गरिसकेकी छन् । तर, राष्ट्रपति साक्षी राखेर छलफल भए पनि ‘कुनै किसिमको सहमति जुट्न’ सकेको छैन ।

नेता नेपालले छलफल जारी रहे पनि कुनै किसिमको सहमति नजुटेको जनाएका छन् । पार्टी विधि, प्रक्रिया, विधानअनुसार चल्नुपर्ने अडान राख्दै आएका उनले पार्टी एकताका लागि वार्ता र चलकता दुवै अपनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमाले चाहन्छौं, किनकि यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउँछौं तर अहिलेसम्म कुनै सहमति भएको छैन,’ नेपालले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘२०७७ फागुन २८ गते र तत्पश्चात् बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ र २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यससम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान् अभियानमा लागिरहन आह्वान गर्दछौं ।’

सहमति जुटाउन एक सातादेखि छलफल तीव्र छ । नेताहरूले दिनरात छलफल भइरहेको भए पनि ‘कसरी मिलाएर अगाडि बढ्ने ?’ विषयमा ठोस सहमति जुटाउन सकिरहेका छैनन् ।

यसैबीच, नेताबीच छलफल भइरहेकै बेला शुक्रबार सा“झ उपप्रधानमन्त्रीसमेत रहेका एमाले महासचिव ईश्वर पोखरेल राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् । शितलमा अहिलेसम्म भएका छलफलबारे जानकारी गाराउँदै पार्टी एकताका लागि पहल गर्न आग्रह गरिएको छ ।

स्रोतका अनुसार नेपाल समूहका २० सांसदले मात्रै राजीनामा गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार बनिसकेपछि उपनिर्वाचन गरेर ती ठाउँमा पुनः नेपाल समूहकै नेतालाई कांग्रेस, माओवादी र जसपाले साझा उम्मेदवार बनाएर विजयी गराउने रणनीति बूढानीलकण्ठमा बनेको छ ।

ओली आफ्नो अडानबाट पछि नहटे नेपाल समूहले नयाँ दल दर्ता गराउनेछ । सोहीमार्फत नेपाल समूह उपनिर्वाचनमा महागठबन्ध बनाएर होमिनेछ । राष्ट्रिय सभा उपनिर्वाचनजस्तै ओलीविरुद्ध अन्य दल एकजुट भएर अघि बढ्ने योजनामा सबै सहमत रहेको स्रोतको दाबी छ ।

नेपाल समूहले कांग्रेस, माओवादी र जसपाको सहयोगमा राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटालाई उम्मेदवार बनाएपछि ओली समूह तनावमा छ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई उम्मेदवार बनाउने निश्चित गरेको ओली समूहले अहिले ‘कसलाई उम्मेदवार बनाउने ?’ भन्नेबारे कुनै निर्णय गर्न सकेको छैन ।

यता, देवकोटालाई विजयी बनाउन तथा प्रधानमन्त्री ओलीविरुद्ध मत हाल्ने विषयमा देउवा, नेपाल, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र यादवबीच निरन्तर छलफल जारी छ ।

आफूविरुद्ध एमाले नेपाल समूह, देउवा, प्रचण्ड, जसपाको उपेन्द्र यादवसहितको संयुक्त गठबन्धन बनेपछि प्रधानमन्त्री ओली आत्तिएका छन् ।, यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्