Logo
Logo

अक्सिजन, सिलिन्डर र शय्या पाउन सकस

असार मसान्तसम्ममा पौने चार अर्ब लिटर अक्सिजन आवश्यक


दृष्टि संवाददाता


काठमाडौं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत अनुमान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय १७ लिटर अक्सिजन खपत हुन्छ । मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ जारी गर्दै मन्त्रालयले यस्तो अनुमान गरेको हो ।

आईसीयू(भेन्टिलेटरमा वैशाख मसान्तसम्म २ हजार २ सय ८५, जेठमा ३ हजार २३ र असारमा ३ हजार ६ सय ९८ जना भर्ना भई मेडिकल अक्सिजन आवश्यक पर्ने अनुमान गरिएको छ । एचडीयूमा वैशाख मसान्तसम्म ५ हजार ३ सय ३१, जेठ मसान्तसम्म ७ हजार ५३ र असार मसान्तसम्म ८ हजार ६ सय २८ जनालाई मेडिकल अक्सिजन आवश्यक पर्न सक्ने जनाइएको छ ।

त्यस्तै, वैशाख मसान्तसम्म ७ हजार ६ सय १६, जेठ मसान्तसम्म १० हजार ७५ र असार मसान्तसम्म १२ हजार ३ सय २६ जनालाई साधारण अक्सिजन बेड आवश्यक पर्न सक्नेछ ।

वैशाखमा ९७ करोड ७६ लाख ५६ हजार ७ सय ८१ लिटर, जेठमा १ अर्ब २९ करोड ३३ लाख ६७ हजार ८ लिटर र असारमा १ अर्ब ५८ करोड २२ लाख ७३ हजार ८ सय २९ लिटर मेडिकल अक्सिजन खपत अनुपात छ । असारसम्म ५ लाख ६६ हजार ६ सय ६१ अक्सिजन सिलिन्डर खपत (४६ लिटर साइज) खपत हुने अनुमान छ ।

यसैबीच, आईसीयू र भेन्टिलेटरका कोरोना संक्रमितलाई दैनिक १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ ।

मन्त्रालयका अनुसार आईसीयू र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने गम्भीर प्रकृतिका बिरामीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिएको छ । १० लिटर प्रतिमिनेटका दरले दैनिक १४ हजार लिटर अक्सिजन चाहिन्छ ।

मन्त्रालयले मेडिकल अक्सिजन प्रयोग तथा आवश्यकता निर्धारणसम्बन्धी मापदण्ड २०७८ समेत जारी गरेको छ । जसमा एचडीयूमा राख्नुपर्ने जटिल बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने उल्लेख छ । आठ लिटर प्रतिमिनेटका दरले दैनिक १२ हजार लिटर अक्सिजन चाहिने मन्त्रालय बताउँछ ।

त्यस्तै, अस्पतालमा अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्ने मापदण्डमा उल्लेख छ ।, यो समाचार राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्