Logo
Logo

आइसियु खोज्दा खोज्दै जान्छ ज्यान


दृष्टि संवाददाता


कोभिड संक्रमणका बिरामी शुक्रबार टेकु अस्पतालको इमर्जेन्सी कक्षबाहिर एम्बुलेन्समा अक्सिजन लगाएर आइसियु बेडको प्रतीक्षा गर्दै । तस्बिर : नागरिक दैनिकबाट

काठमाडौं । जटिल समस्या देखिएका धेरैजसो कोरोना संक्रमित बिरामीले शुक्रबार आइसियु बेड खोज्दा पाउन सकेनन् । बेल्जियमबाट नेपाल आएका बाग्लुङका ४० वर्षीय पुरुषको अक्सिजन लेबल घटेपछि शुक्रबार दिनभरि आइसियुको खोजी गरे ।

कतै पाउन नसकेपछि पोखरामा खालि भएको सुनेर उतै जाने तयारी पनि गरे तर श्वास–प्रश्वासमा बाधा भएकाले उनलाई पोखरासम्म लैजान सजिलो थिएन । सहेरै राजधानीको एक निजी अस्पतालमा बसिरहे ।

यो स्थिति भोग्ने यी पुरुष एक्लो व्यक्ति होइनन् । जटिल अवस्थाका सयौं बिरामीले समयमै आइसियु र अक्सिजन पाउन नसकेको अस्पतालहरूले जनाएका छन्  ।

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धुव्र गैरेका अनुसार उनकै नातेदार एक व्यक्तिका लागि आइसियु भेटिएन । बिरामीलाई गुल्मीबाट काठमाडौं ल्याउन खोजेकोमा आइसियु बेड नभेटेपछि बुटवलमै राख्नुपर्‍यो ।

आफूलाई दैनिक १५ देखि २० वटा फोन आइसियु खोजिदिन आग्रह गर्दै आउने गरेको उनले बताए  ।

आफू वीर अस्पतालको वरिष्ठ चिकित्सक भएर पनि कसैलाई आइसियु खोजिदिन नसकेको उनले बताए । आइसियुको खोजीमा अस्पताल चहार्दाचहार्दै कतिपय बिरामीको मृत्यु भइरहेको छ । उनी भन्छन्, ‘कतिको एम्बुलेन्समै मृत्यु हुन्छ, कतिको वीरको आकस्मिक कक्षमा पुग्नेबित्तिकै मृत्यु हुन्छ ।’

आकस्मिक कक्षमा पुगेर आइसियु कुर्ने क्रममा कतिको त्यहीं नै मृत्यु हुने गरेको डा। गैरेले बताए । उनका अनुसार बेड र आइसियुको खोजीमा अस्पतालका कोभिड उपचार संयोजक डा। अच्युत कार्कीलाई दैनिक ५ सयभन्दा बढी फोन आएपछि उनले फोन बोक्नै छाडेका छन् । चार दिनदेखि अस्पतालमा यस्तो अवस्था रहेको उनले बताए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्