Logo
Logo

माधव नेपाल निर्णायक


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ ।

संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने एमालेका नेता माधवकुमार नेपालपक्षीय नेताहरूले तय गर्ने रणनीतिमा भर पर्ने देखिएको छ ।

नेपाल र उनीपक्षीय नेताहरूसँग केही दिनयता एमालेकै ओली पक्ष, नेपाली कांग्रेस र माओवादीले व्यापक संवाद गरिरहेका छन् । ओली र नेपाल पक्षका केही नेताबीच संवाद भइरहँदा स्वयं नेपाल भने कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग आगामी योजनाबारे छलफलमा थिए ।

नेपाल स्वयंले ओलीसँग भन्दा कांग्रेस–माओवादीसँगको सहकार्य सजिलो हुने निष्कर्ष निकालेकाले उनको मन अरू दलहरूसँगै गठबन्धन गर्नेतिर सोझिएको छ । दोस्रो पुस्ताका नेताहरू सकेसम्म एमाले नै मिलाउनुपर्छ भन्ने छलफलमा छन् ।

अब विश्वासको मत लिन तयार ओली या अविश्वासको प्रस्ताव दर्ता गर्न ठिक्क परेका कांग्रेस सभापति शेरबहादुर देउवा कसको पल्ला भारी हुन्छ नेपाल समूहले गर्ने निर्णयमा भर पर्ने देखिएको छ । सबैतिर समानान्तर संवाद गरिरहेको नेपाल पक्ष भने कुन बाटो रोज्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।

देउवाले अविश्वास प्रस्ताव ल्याउने
कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ आधा घण्टा कुराकानी भयो । दाहालले देउवालाई ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइहालौं भनेर प्रस्ताव गरे । देउवाले अझै पनि संख्या नपुगेको बताए । ‘कस्तो कुरा गर्नुहुन्छ तपाईं  ?

मलाई प्रधानमन्त्री हुन मन नभएको हो र ?’ देउवाले दाहालसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘खोइ संख्या  ?’ जवाफमा दाहालले नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तीमा १८ जना सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेस गरेका थिए ।

देउवाले भने नेपालपक्षीय नेताहरूले राजीनामा दिन्छन् भन्ने आफूलाई नलागेको बताए । ‘उहाँहरूको विश्वास हुनुपर्‍यो, मैले अविश्वास प्रस्ताव पेस गर्ने, नेपालजीहरूले राजीनामा नदिने भयो भने के हुन्छ  ?’ देउवाले दाहालसँग सोधेका थिए ।, यो समाचार आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्