पोखरामा कोरोनाबाट थप तीन जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

पोखरामा कोरोनाबाट थप तीन जनाको मृत्यु


दृष्टि संवाददाता


पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

शनिबार पोखराका मणिपाल शिक्षण अस्पताल, मेडिप्लस अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरुमा पर्वत जिल्ला कुस्मा नगरपालिका–१ का ४० वर्षीय कोरोना संक्रमित युवाको पोखरास्थित मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनमा न्युमोनिया लगायतका समस्या देखिएको थिए।

त्यसैगरी पोखरा महानगरपालिका– १३ की ४८ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको हो । ती महिलामा यही बैशाख १३ गते संक्रमण देखिएको थियो । उनको कोभिड निमोनियाका कारण मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै पोखरा महानगरपालिका १० का ८१ वर्षीय बृद्धको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्