Logo
Logo

राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै


दृष्टि संवाददाता


काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो ।

हाल राजधानीका अस्पतालमा आवश्यकताको ५० प्रतिशमात्रै अक्सिजनको उपलब्ध छ । सरकारले अबको दिनमा अक्सिजन उपलब्ध नगराए स्थिति भयावह हुने खतरा रहेको निजी अस्पतालहरूको संस्था निजी अस्पताल संघका उपाध्यक्ष कुमार थापा बताउँछन् ।

उनका अनुसार कोभिडका गम्भीर खाले बिरामी आउँदा अक्सिजन पु¥याउनै कठिन भएको हो । कोभिडका जटिल खाले एक जना बिरामीलाई दिनमा कम्तीमा ५ सिलिन्डर अक्सिजन दिनु परिरहेको उनी बताउँछन् ।

अहिले काठमाडौं उपत्यकाका ह्याम्स, अल्का, निदान, भक्तपुरलगायत अस्पातलमा अक्सिजनको अभाव शुरू भएको हो । यी अस्पतालमा अक्सिजनको अभाव हुँदा कोभिडका जटिल खाले अक्सिजन दिनुपर्ने बिरामीहरूलाई अन्तै रिफर गर्न थालिसकेको सम्बद्ध अस्पतालका चिकित्सकहरूको भनाइ छ ।

काठमाडौं उपत्यकासहित देशभर ३१ ओटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । साना ठूला अस्पतालमा गरी ६ हजार ३ सय अक्सिजन सिलिन्डर अहिले प्रयोग भइरहेको छ । तर, अक्सिजनको माग निकै बढेपछि जटिल आपूर्तिमा समस्यामा आएको हो ।

नेपाल चिकित्सक संघले अक्सिजन सिलिन्डरको अभाव तत्काल हटाउन माग गरेको छ । अक्सिजन सिलिन्डरको अभाव नहुने अवस्था सुनिश्चित गर्न शनिवार एक विज्ञप्तिीजारी गर्दै संघले माग गरेको हो ।

संघका महासचिव बद्री रिजालले अक्सिजनको अभावमा कोभिडका बिरामीहरू भर्ना गर्नै कठिन हुन लागेको बताउँदै अक्सिजन सिलिन्डर र बेडको सुनिश्चितता गर्न सरकारसँग माग गरे ।, यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्