Logo
Logo
आज कानून दिवस

प्रधानन्यायाधीशले जनाए स्वतन्त्र र निष्पक्ष न्यायपालिकामा प्रतिबद्धता


दृष्टि संवाददाता


काठमाडौं । आज कानुन् दिवस । विक्रम सम्वत् २००९ साल वैशाख २६ गते प्रधान न्यायालय ऐन लागू भएको दिनको सम्झनामा ‘कानुन दिवस’ मनाइन्छ ।

कानुन दिवसको अवसरमा सर्वोच्च अदालतले औपचारिक कार्यक्रम नै आयोजना गर्दथ्यो । तर, गत वर्ष र यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सर्वोच्चले कुनै कार्यक्रम आयोजना गरेको छैन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कानून दिवस, २०७८ का अवसरमा आज शुभकामना सन्देश दिएका छन् । सन्देशमा उनले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको विकासमा प्रतिबद्धता समेत जनाएका छन् ।

प्रधानन्यायाधीश जबराले आजको दिन न्याय, समानता एवम् विधिको शासनप्रति सम्मान र प्रतिबद्धता व्यक्त गर्ने विशेष दिन पनि रहेको उल्लेख गरेका छन् । ‘न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा आफ्नो स्पष्ट प्रतिबद्धतासमेत व्यक्त गर्दछु’, प्रधानन्यायाधीश राणाले भनेका छन् ।

उनले आजको विशेष दिनले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिको लागि क्रियाशील रहन सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

प्रधानन्याधीश जबराले कानुन दिवस कानून र न्याय क्षेत्रका लागि मात्र नभई सबै क्षेत्र र नागरिकको तहसम्म पनि त्यत्तिकै महत्वपूर्ण भएको भन्दै यसलाई राष्ट्रिय पर्वकै रुपमा मनाउन पनि विशेष आग्रह गरेका छन् । प्रधानन्यायाधीश राणाले एक आपसमा शुभकामना आदान प्रदान गरी कानुन दिवस मनाउन सबैमा अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्