Logo
Logo

कामविहीन भएपछि फेरि सडकमा मजदुर


दृष्टि संवाददाता


काठमाडौं । आइतबार बिहान थापाथलीपछाडि युएन पार्कको छायाँमा सुस्ताउँदै थिइन् मीना कार्की । उनी भर्खरै सडकमा ‘हाम्रो टिम नेपाल’ले बाँडिरहेको खाना खाएर फर्केकी थिइन् ।

चोटका कारण खुट्टामा लागेको घाउ निको भइसकेको थिएन । लठ्ठीको सहारामा उनी सानेपाबाट खाना पाउने आशामा दिनहुँ थापाथली पुग्ने गर्छिन् । उपचार नपाएर केही दिनदेखि खुट्टाका घाउमा पिप जमेको थियो ।

‘हाम्रो टिम नेपाल’ले दिएको औषधि लिइरहे पनि घाउ निको नभएपछि उनलाई अस्पताल नै लगिएको थियो । उपचारपछि घाउ बिस्तारै पुरिँदै गए पनि उनी लठ्ठीकै सहारामा हिँडिरहेकी छिन् ।

३५ वर्षीया मीना सानेपाकै एक पार्टी प्यालेसमा भाँडा माझेर जीवन चलाउने मजदुर हुन् । पार्टी प्यालेसले भाँडा माझेमार्फत उनलाई मासिक पाँच हजार रुपैयाँ दिँदै आएको थियो । काम गर्ने ठाउँमा चिप्लेर खुट्टामा घाउ भए पनि मीना चैतदेखि नै काममा गएकी थिइनन् ।

निको भएपछि पार्टी प्यालेसले काममा फर्किनु भने पनि बीचैमा लकडाउन हुँदा काम ठप्प भयो । सुरुमा मेडिकलबाट औषधि ल्याएर खुट्टाको उपचार गरिरहेकी उनीसँग भएको सबै पैसा सकियो ।

अहिले उनी सडकमा खाना खाँदै बाँचिरहेकी छिन् । उनी सानेपाको एक पुरानो घरमा मासिक १५ सय भाडा तिरेर छोरीसँगै बसिरहेकी थिइन् । श्रीमान्ले अर्को बिहे गरेपछि नाबालक छोरी लिएर मजदुरी गर्दै आएकी मीना आफैँ बिरामी भएपछि अहिले सडकमा पुगेकी छिन् ।

लकडाउन भएपछि स्याहार गर्न सक्ने अवस्था नभएकाले उनले छोरीलाई चिनजानको आफन्तकहाँ पठाइदिइन् । अहिले उनको दैनिकी बिहानै थापाथली आउने, समूहमा बाँडिरहेको खाना खाने, दिउँसो युएन पार्कमा सुस्ताउने र बेलुका फेरि खाना खाएर कोठा फर्किनेमा बितिरहेको छ ।

हाम्रो टिम नेपालले बाँडिरहेको खाना खानेहरूको लाइनमा अंशु परियार र रोशनी परियार पनि थिए । दैनिक ज्याला मजदुरी गरेर जीवन धानिरहेका परियारदम्पती लकडाउनसँगै काम पाइन छाडेपछि सडकमा आइपुगेका हुन् । उनीहरूको बस्ने ठेगान छैन, जता काम पायो त्यतै बस्दै आएका परियारदम्पती अहिले पुल्चोकको पाटीमा सुत्छन् ।

बिहानै उठेर थापाथली आउँछन्, दिउँसो विष्णुमती खोला किनारमा डुल्छन्, बेलुका फेरि खाना खाएर पाटीमा सुत्न जान्छन् । उनीहरूसँगै अन्य आठजना पनि छन्, जो राति पाटीमा सुत्ने र दिउँसोको समयमा ज्याला मजदुरी गर्ने गर्छन् ।

दिउँसो कमाएको पैसाले दैनिक छाक टार्दै आएका मजदुरहरू निषेधाज्ञासँगै फेरि बिचल्लीमा परेका छन् । रोशनी परियार भन्छिन्, ‘अहिले काम पाइन्छ कि भनेर डुलिरहेका छौँ, कोभिड सर्छ भन्दै कसैले काम दिन मान्दैनन् ।’

ज्याला मजदुरी गरेर दैनिक गुजारा चलाइरहेकाहरू निषेधाज्ञा लागेसँगै सडकमा आउन थालेका छन् । खासगरी सुकुम्बासी बस्तीमा बस्दै आएका, पाटीपौवामा बस्दै आएका बढी पीडित भएका छन्  ।, यो समाचार आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्