सिलिण्डर संकलन गर्दै प्रहरी « Drishti News – Nepalese News Portal
Logo

सिलिण्डर संकलन गर्दै प्रहरी


दृष्टि संवाददाता


दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो ।

प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कोभिड सङ्क्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर सङ्कलन शुरु गरेको छ ।

दमौलीबाट पाँच वटा भरी सिलिण्डर र १० वटा खाली सिलिण्डर सङ्कलन गरिएको छ भने बेलचौताराबाट तीन वटा भरी सिलिण्डर सङ्कलन गरिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले बजार क्षेत्रबाट आठ वटा भरी र १७ वटा खाली सिलिण्डर सङ्कलन गरेको प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

डुम्रे बजार क्षेत्रका विभिन्न मेटल कम्पनी, इञ्जिनियरिङ वर्कसप, मोटर ग्यारेज, ग्यास वेल्डिङ तथा अन्य कम्पनीसँग रहेका सिलिण्डर विभिन्न अस्पतालमा पठाउने गरी सङ्कलन गरिएको भुसालले जानकारी दिए । सङ्कलन गरिएको सिलिण्डर प्रशासन कार्यालयको सिफारिसका आधारमा अस्पतालमा पठाउने तयारी गरिएको छ ।

यस्तै तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत सिनो हाइड्रो कम्पनीसँग पनि सिलिण्डर रहेकाले प्रशासन कार्यालयको पत्रपछि उक्त सिलिण्डर पनि सङ्कलन गरिने प्रहरीले जनाएको छ । प्रहरीले केही दिनअघि पनि आँबुखैरेनी क्षेत्रबाट २६ वटा सिलिण्डर सङ्कलन गरी चितवनको अक्सिजन उत्पादन कम्पनीमा पठाएको थियो ।

दमौली आसपासका ग्यारेजमा अक्सिजनका सिलिण्डर जथाभावीरूपमा फालिएको भेटिएको थियो । प्रयोगमा आएका सिलिण्डर जथाभावीरूपमा फालिएको तस्वीर सार्वजनिक भएपछि ती सिलिण्डर सङ्कलन गर्नुपर्ने आवाज उठेको थियो । अक्सिजनको सिलिण्डर ग्यारेजमा फलाम काट्न, हाइड्रो कम्पनीमा वेल्डिङ र सुन पसलहरुमा प्रयोग हुँदै आएको छ ।

कतिपयले भने घरमा पनि राख्ने गर्नाले अहिले सिलिण्डर अभाव भएको सार्वजनिक हुँदै आएको छ ।

नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी नियन्त्रणमा
तनहुँको व्यास नगरपालिकास्थित विभिन्न ठाउँमा अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएर जरिवाना गराइएको छ ।

व्यास–५ स्थित मादी नदीको बगरबाट निषेधित समयमा नदीजन्य पदार्थ उत्खनन एवं लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ५५१४, ग १ त ३१५७ र ग १ त २६३० नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सवारीलाई कारवाहीका लागि नगरपालिका पठाइएकामा प्रतिट्र्याक्टर रु आठ हजारका दरले रु २४ हजार जरिवाना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै व्यास–१० दुम्सीस्थित मादी नदी बगरबाट अवैधरूपमा बालुवा उत्खनन गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ४३५८ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्र्याक्टरलाई पनि नगरपालिकाले रु आठ हजार जरिवाना गरेको छ ।

व्यास–७ दुलेपानीस्थित झोलुङ्गे पुलमाथि अवैधरूपमा ढुङ्गा लोड गर्दै गरेको अवस्थामा ग १ त ६४९१ नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । उक्त ट्र्याक्टरलाई कारवाहीका लागि नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्