Logo
Logo

सेयर बजार २७ अंकले बढ्यो


दृष्टि संवाददाता


काठमाडौं । साताको पहिलो दिन गिरावट आएको सेयर बजारमा सोमबारको कारोबार दिनमा भने बढेको छ । आइतबार १८ अंकको गिरावट भएको बजार परिसूचक नेप्से सोमबार २७ दशमलव ४१ अंकले वृद्धि हुँदा २ हजार ६ सय ४५ दशमलव ८६ अंकमा बन्द भएको हो ।

आइतबार २ हजार ६ सय १८ दशमलव४४ अंकमा बन्द भएको नेप्से सोमबार प्रि ओपन सेसनमा ५ अंकभन्दा माथिले घटेर २ हजार ६ सय १३ दशमलव १८ अंकमा खुलेको थियो । बजार खुलेको केही मिनेट ओरालो लागे पनि लगत्तै उकालो लागेको बजार अन्ततः १ प्रतिशतभन्दा माथिले बढेर बन्द भएको छ ।

नयाँ बजेटअगाडि विश्वासको मत लिन संसद्को विशेष अधिवेशन आह्वान गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाउने निश्चित भएको छ । तीन दिनसम्म लगातार घटेको सेयर बजार कोभिड–१९ प्रभाव बढ्दै जाँदा पनि सरकारले विश्वासको मत नपाउने निश्चित हुँदा सोमबार हरियाली छाएको छ ।

बजार परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्बमाथिको कारोबार भएको बजारमा आज भने कारोबार रकम ४ अर्ब २० करोडमा सीमित भएको छ । आज नेप्सेमा ७५ लाख ७९ हजार ३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड ३८ लाख ३३ हजारको कारोबार भएको छ ।

सबै उपसूचकमा हरियाली छाउँदा सोमबार अन्य, उत्पादन र निर्जीवन बिमा उपसूचकले लिड गरेको छ । अन्य उपसूचक सर्वाधिक ३.९३ प्रतिशत, निर्जीवन बिमा २.६४ प्रतिशत र उत्पादन उपसूचक २.३७ प्रतिशतले बढेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक भने ०.२ प्रतिशतले मात्रै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्