Logo
Logo

भिड बढ्यो भनेर एक लाख नागरिकलाई पुग्ने खोप थन्क्याइयो


दृष्टि संवाददाता


काठमाडौं । खोप लगाउन आउनेको भिड व्यवस्थापन गर्न नसकेको भन्दै सरकारले कम्तीमा एक लाखभन्दा धेरै नागरिकलाई पुग्ने कोरोनाविरुद्धको खोप थन्क्याएको छ । स्वास्थ्य मन्त्रालयले १५ वैशाखदेखि खोप अभियान स्थगित गरेको छ ।

मन्त्रालयका अनुसार कोभिसिल्ड खोप एक लाख ५४ हजार ११ डोज र चिनियाँ खोप भेरोसेल दुई लाख २२ हजार तीन सय ४० डोज मौज्दात छ । कोरोना महामारीमा बनाइएको खोपको म्याद ६ महिनाको मात्रै छ ।

कोभिसिल्ड खोप पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज दिन पुग्ने गरी मौज्दात छैन । पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा १३ लाख ६४ हजार सात सय एक नागरिक छन् ।

‘पहिलो डोज लगाएकाहरूलाई तत्काल दोस्रो डोज आउने सम्भावना देखिँदैन । मौज्दात खोपले दोस्रो डोज लगाउन मिल्दैन  । त्यसैले बाँकी डेढ लाख पनि पहिलो डोजमै प्रयोग गर्नु राम्रो हुन्छ,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने ।

त्यस्तै, चीन सरकारले अनुदानमा दिएको आठ लाख भेरोसेल खोपमध्ये दुई लाख ८८ हजार आठ सय ३० डोज मात्रै प्रयोग भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो डोज लगाएकाहरूका लागि आवश्यक खोप राखेर पनि दुई लाख २२ हजार तीन सय ४० डोज प्रयोग गर्न मिल्छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा। झलक शर्मा गौतमले ५० हजारलाई पुग्ने चिनियाँ खोप बाँकी रहेको बताए । ‘खोप केन्द्रहरूमा थामिनसक्नु भिड भएकाले चल्दाचल्दैको खोप रोकेका हौँ,’ उनले भने, ‘मन्त्रालयसँग छलफल गरेर केही दिनमा पुनः चलाउँछौँ ।’

सरकारले भेरोसेल १८ वर्षदेखि ५९ वर्षसम्मका सबैका लागि खुला गरेको थियो  । अब भने प्राथमिकताका आधारमा मात्रै खुला गर्ने डा। गौतमले बताए ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्