Logo
Logo

कोरोना न्युनिकरणमा गोल्छा ग्रुपको १ करोड सहयोग


दृष्टि संवाददाता


काठमाडौँ । गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमणको उपचारलाई अझै प्रभावकारी बनाउन १ करोड रुपैया सहयोग गरेको छ । गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगललाई १ करोड रुपैयाको सहयोग हस्तान्तरण गरेका हुन् ।

कोरोनाको पहिलो लहरको विषम परिस्थितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाटन अस्पताल मार्फत कोरोनासँग जुध्न महत्वपूर्ण कार्य गर्दै आफ्नो सेवाबाट थुप्रै संक्रमितको जीवन रक्षा गर्न सफल भएको थियो ।

अस्पतालले सधैँ उत्कृष्ट कार्य गरेकोले उक्त प्रशंसनीय कार्यको उच्च मुल्याकंन गर्दै अहिले दोश्रो लहरले झनै आक्रान्त बनाएको असहज परिस्थितिसँग जुध्न सहज होस् भन्ने हेतुले गोल्छा गु्रपले उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।

गोल्छा गु्रपद्वारा प्रदान गरिएको सहयोग रकमलाई अस्पतालले अक्सिजन व्यवस्थापन गर्न, उपकरणहरुको अभावलाई पूर्ति गर्न, स्वास्थ्यकर्मीहरुद्वारा दिइने सेवा सहज बनाउन र बिरामीलाई आवश्यक पर्ने बेडहरुको संख्या बढाउने लगायत कोरोनाको संक्रमणसँग जुध्ने अन्य कार्य गर्नलाई उपयोग गर्ने बताइएको छ ।

गोल्छा गु्रपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले अहिले देश एकदमै विषम परिस्थितिबाट गुज्रिरहेको छ र कोरोनाको दोस्रो लहरले सबैलाई एकदमै अफ्ठ्यारोमा पारेको भन्दै महामारीको घडीमा पाटन अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

कोरोनाको पहिलो लहर र लकडाउनको बेलामा पनि अन्य केही संस्थासँग मिलेर कोरोनाविरुद्ध सहकार्य गरेको भन्दै उनले लकडाउनका बेला सिंगापूरको परोपकारी संस्था टेमासेक फाउन्डेशनबाट अनुदान प्राप्त १० हजार पिसिआर फर्टिट्यूड किट प्लेन चार्टर्ड गरि ल्याएर सरकारलाई हस्तान्तरण गरेका पनि बताए ।

फ्रन्टलाइनमा कार्य गरिरहेका स्वास्थ्यकर्मीद्वारा देशभरका कोभिड–१९ का बिरामीको परीक्षणका लागि उपयोग गरिएकोमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्यको थालनी गरेको र भविष्यमा पनि यस सहकार्यलाई निरन्तरता दिने उनले प्रतिवद्धता ब्यक्त गरे ।

सो अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेश नाथ गोंगलले गोल्छा गु्रपले विषम परिस्थितिमा आवश्यक उपकरण र सेवा सहज बनाउन गरेको सहयोग अत्यन्तै समय सापेक्ष भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्