Logo
Logo

कोरोनाविरुद्धको खोप खरिदमा कमिसन दिएका छैनौं : स्वास्थ्य मन्त्री

कम दरमा खोप उपलब्ध गराउन चुनौती


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको खोप खरिदका क्रममा कसैलाई पनि कमिसन नदिएको दाबी गरेका छन्। मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले कमिसन नदिएको र नलिएको दाबी गरेका हुन्।

उनले कोरोना खोप खरिद सम्बन्धी तथ्यहीन र आत्मरिताका कुरा नबोल्न नेताहरुलाई आग्रह गरेका छन् । संसद्मा नेताहरुले खोप खरिद सम्बन्धी कुनै तथ्यांक र आधारहीन कुरा गरेको भन्दै उनको आपत्ति थियो ।

उनले खोप सम्बन्धीको कुरा बुझेर मात्र बोल्न नेताहरुलाई आग्रह गरे । उनले भने,‘म नेताहरुलाई भन्न चाहान्छु बोल्नू त बोल्नू बुझेर मात्रै बोल्नू । कुनै तथ्यांक, डेटा छैन भने हामी सहयोग गर्न तयार छौं । अनर्गल, झूठा र आत्मरतिका लागि नबोल्नुहोस् ।’

उनले कोभ्याक्सले प्राप्त गर्ने खोप सबैभन्दा बढी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै भएको बताउँदै सरकारले जिटूजी मार्फत २० लाख डोज भ्याक्सिन खरिद गरेको बताए ।

उनले भने,’नेपाल सरकारले राष्ट्र बैंक मार्फत कम्पनीलाई ८० प्रतिशत पठाएको हो । त्यस बाहेक अन्य कुनै खरिद गरेको छैन तर जुन ढंगले प्रचारप्रासर भयो त्यो गलत छ । सरकारले प्रति डोज खोपलाई ४ डलरमा खरिद गरेको छ ।’

उनले सरकारले खोप खरिदमा कसैलाई कमिसन पनि नदिएको र दिने अवस्था पनि नरहेको बताउँदै जीटूजी मार्फत खोप खरिद गरिएको प्रष्ट्याएका थिए । उनले सरकारले ल्याएको दर ४ डलरमा नै अरु कसैले खोप ल्याउन सक्छ भने सरकारले १ करोड भन्दा बढी डोज खोप किन्ने चुनौती पनि दिए।

‘यदि कसैले ४ डलरभन्दा कम दरमा खोप उपलब्ध गराउँछ भने सरकारले १ करोड भन्दा बढी किन्न तयार छ। कोही उपलब्ध गराउँन सक्छरुु, उनले चुनौती दिँदै भने, खोपका विषयमा संसदमा पनि कुरा उठ्यो। बोल्न त बोल्नुहोस्। तर कुनै तथ्य बिना नबोल्नुस्। हामीले खरिद गरेको २० लाख डोज हो। त्यो पनि ४ डलरका दरले।’

मन्त्री त्रिपाठीले खोप खरिदका लागि अमेरिका, रसिया, बेलयात, चीन लगायतका देशसँग पनि पहल भइरहेको समेत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्