Logo
Logo

पहाडी जिल्लामा निषेधाज्ञा प्रभावकारी हुन सकेन


हिक्मत बम


धनगढी । सुदूरपश्चिममा कोरोना संक्रमणको दर दिनप्रति दिन बढ्दै गएको छ । खुल्ला सीमानाकाबाट घर फकिएकाहरुले स्वास्थ्य सुरक्षाका मापडण्ड नपनाउँदा र सरोकारवाला निकायले उनीहरूकाे व्यवस्थापनमा ध्यान नदिँदा सुदूरपश्चिममा संक्रमणको स्थिति भयावह बन्दै गएको छ ।

सुदूरपश्चिममा नौं वटै जिल्लामा निशेधाज्ञा जारी गरिएको भएपनि तराईका दुई जिल्लाबहेक पहाडी सात जिल्लामा निषेधाज्ञा प्रभावकारी हुन सकेको छैन । निषेधाज्ञा प्रभावकारी नहुँदा गाउँ–गाउँमा कोरोना फैलिएको स्वास्थ्यकर्मीहरुको ठहर छ ।

पहाडी जिल्लाका मुख्य दुई सीमानाका बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट हुँदै घर फर्किएकाहरुबाट सुदूरपश्चिमका पहाडी जिल्लामा संक्रमणको दर बढ्दै गएको स्थानीय बताउछन् ।

सीमानाकासंग जोडिएका यी दुई जिल्लाका नाकाहरुमा हेल्थ डेस्क स्थापना गरिएको भएपनि घर फर्किनेहरुको चेकजाँच नहुँदा र घर फर्किएकाहरु होम आइसोलेसनमा नबस्दा संक्रमण बढ्दै गएको हो ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै सुदूरपश्चिमका पहाडी जिल्लाहरु अछाम, बझाङ, बैतडी, दार्चुला, डोटी, डडेल्धुरा र बाजुरमा पनि लकडाउन गरिएको भएपनि बजारमा मात्रै लागु भएको छ । तर गाउँ क्षेत्रमा लकडाउनको कुनै प्रभावकारिता नदेखिदा संक्रमण दर अझै बढ्दै जाने स्थानीय लक्ष्मण कुँरले बताए ।

निषेधाज्ञा जारी गरिए पनि ग्रामिण भेगमा यसको प्रभाव नपर्दा र सरोकारवाला निकायले ग्रामिण क्षेत्रमा ध्यान नदिदा सो क्षेत्रका सबैजसो चिया पसल निर्वाध रूपमा सञ्चालनमा रहेको उने बताए । उनले भने, ‘गाउँमा चिया पसल खुल्ला हुँदा २५ जना भन्दा बढिको संक्रमा पसलमा मानिसहरु जम्मा भएर चिया गफ गर्ने गर्दछन् । जसले गर्दा ग्रामिण क्षेत्र संक्रमणको चपेटामा परेको देखिन्छ ।’

‘गाउँमा चिया पसल खुलै हुन्छन  । भारतलगायत बाहिरबाट आएकाहरू एकै ठाउँमा झुम्मिन्छन्,’ ढकारीका पूर्णबहादुर बुढाले भने, ‘ढकारी बजार, ढंग्नेटा बजार बन्द छन् । स्थानीयको जमघट हुने गाउँका चिया पसल खुला छन्  ।’ अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेका बेला नागरिकहरु आफै सचेत हुनुपर्ने उनले बताए ।

सदरमुकाम मंगलसेनसँगै, मुख्य व्यापारिक केन्द्र साँफेबगर, जयगढ, मुजाबगर, कमलबजार र विनायकबाहेक ग्रामिण भेगमा निषेधाज्ञाको प्रभाव परेको छैन  ।

भारतबाट आएका, काठमाडौं र अन्य जिल्लाबाट घर फर्केकाहरू सबै गाउँमा निषेधाज्ञाको बेवास्ता गरी ढुक्कले समूहमा जम्मा हुने र हिँडडुल गर्ने गरेको स्थानीय बताउँछन् । रोजगारीका लागि विभिन्न ठाउँमा गएकाहरू अहिले गाउँ फर्किएका छन् । गाउँ फर्किएर उनीहरुले न समाजिक दुरी कायम गरेका छन् न त स्वास्थ्य सुरक्षाका मापडण्ड नै अपनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्