Logo
Logo

चैत मसान्त सम्म ७ खर्ब २९ अर्ब रेमिटयान्स भित्रियो

चालु खाता घाटा २ खर्ब ७ अर्ब


दृष्टि संवाददाता


काठमाडौ । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा चालु खाता घाटा २ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको समष्टिगत आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सो कुरा उल्लेख गरिएको हो । गत वर्षको सोही अवधिको तुलनामा चालु खाता घाटा ६४ दशमलब ५ प्रतिशतले बढेको हो ।

तर चैत मसान्तसम्म ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यो अघिल्लो बर्षको चैतको तुलनामा साढे १६ प्रतिशत बढि हो । अमेरिकी डलरमा ६ अर्ब १९ करोड भित्रिएको छ । यो १३ प्रतिशतको बृद्धि हो । विदेशमा काम गर्न जाने र पुनः श्रम स्वीकृति लिनेहरु घटेपनि रेमिटेन्स भने बढिरहेको छ ।

चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा अर्थतन्त्र कति मजबुत छ भन्ने मापन गर्छ । चालु खाता घाटाले मुलुकभित्र भित्रिएको तुलनामा बाहिरिएको रकमको अन्तर देखाउँछ ।

साउनदेखि चैतसम्म नेपाल भित्रिएको भन्दा नेपालबाट बाहिरिएको रकम दुई खर्ब ७ अर्ब रुपैयाँ बढी रहेको पनि सो प्रतिवेदनले उल्लेख गरेको छ ।

चालु खाता, पुँजी खाता र वित्तीय खाताले समग्र शोधनान्तरको स्थितिलाई प्रतिबिम्बित गर्छ । पुँजीखातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकहरूले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रले विदेशबाट ल्याएको ऋणसमेत समावेश हुन्छ । पुँजी खाताको दायित्व दीर्घकालीन हुनेहुँदा शोधनान्तर स्थिति बचत भएपनि दीर्घकालको दायित्व समेत त्यसमा समावेश भएको हुन्छ ।

९ महिनामा आयात गत वर्षको तुलनामा १३ दशलमव १ प्रतिशतले बढेर ११ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको कुल आयात बराबर चालु आर्थिक वर्षको ९ महिनामा आयात भैसकेको छ ।

निर्यात २० दशलमव २ प्रतिशतले बढेर ९४ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । व्यापारघाटा गत वर्षको सोही अवधिको तुलनामा १२ दशलमव ५ प्रतिशतले बढेर १० खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर बचत ४२ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको थियो ।

प्रतिवेदनले मुल्यबृद्धि अघिल्लो महिनाको तुलनामा सामान्य बढेर ३ दशलमव १० प्रतिशत रहेको उल्लेख गरेको छ । चालु आर्थिक वर्षका ९ महिनामा औसत मूल्यवृद्धि ३ दशलमव ४६ प्रतिशत मात्र छ ।

प्रतिक्रिया दिनुहोस्