Logo
Logo

१ करोड ९० लाख नागरिक खोपबाट वञ्चित


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ रहेको प्रक्षेपण गरेको थियो ।

मन्त्रालय प्रमुख विशेषज्ञ डा। रोशन पोखरेलका अनुसार हालसम्म २० लाख ९१ हजारभन्दा बढीले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । लक्षित जनसंख्यामध्ये ९ दशमलव ६ प्रतिशतले खोप लगाएको आँकलन छ । ३ लाख ६८ हजारले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । अझै खोपलक्षित जनसंख्यामध्ये अनुमानित १ करोड ९० लाख नागरिक वञ्चित देखिन्छन् ।

सरकारले कोभिड खोपलक्षित समूहको प्राथमिकीकरण गरेको थियो । जसअन्तर्गत स्वास्थ्य तथा सामाजिक क्षेत्रका ९ लाख ११ हजार ३ सय ४२, ज्येष्ठ नागरिक, दीर्घरोगी ५१ लाख ६४ हजार २ सय ६९, ४० देखि ५४ वर्ष उमेर समूहका २९ लाख १ हजार १ सय ४ र १५ देखि ३९ वर्ष उमेर समूहका १ करोड १७ लाख ८० हजार ४८ जना खोप लगाउने लक्ष्य लिएको थियो । तर, अधिकांश अभियानबाट वञ्चित छन् ।

२३ फागुन २०७७ बाट ६५ वर्ष उमेर समूहका नागरिकलाई कोभिसिल्ड खोप लगाउने अभियान सुरु भएको हो । विज्ञका अनुसार कम्तीमा ८ देखि १२ साताभित्र खोप दोस्रो डोज दिइसक्नुपर्नेहुन्छ । यो आधारमा दोस्रो मात्रा दिने अभियान ढिलोमा पनि १५ जेठ सुरु गर्नुपर्नेहुन्छ । तर, पर्याप्त मौज्दात नहुँदा खोप अभियान ‘कहिलेदेखि सुरु गर्ने ?’ भन्ने अन्योल छ । कोभिसिल्ड नगन्य मात्रामा छ ।

खोपविज्ञ डा। श्यामराज उप्रेती पहिलो डोज लगाएको १२ सातासम्म लगाउँदा प्रभावकारी मानिने बताउँछन् । ‘पहिलो डोज लगाएको १२ साताभित्र प्रभावकारी मानिन्छ,’ उनी भन्छन्, ‘जहिले खोप दिए पनि अब दोस्रो मात्रा दिने हो ।’

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीका अनुसार हालसम्म भारतबाट १० लाख डोज कोभिसिल्ड र चीन सरकारबाट ८ लाख डोज भेरोसिल खोप अनुदान प्राप्त भएको छ । खरिद गरिएको २० लाखमध्ये १० लाख डोज खोप, कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज आएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्