Logo
Logo

इजरायल र गाजाका आकाशमा छिनछिनमै रकेट ओहोरदोहोर ! (हेर्नुस् तस्विर)


दृष्टि संवाददाता


काठमाडौं । इजरायल र गाजाका आकाशका छिनछिनमै रकेटको ओहोरदोहोर पछिल्ला दुई दिनयता भइरहेको छ । गाजामा रहेका विद्रोही समूह हमास र इस्लामिक जिहादले इजरायली शहर तेल अभिभको आसपासमा निशाना बनाएर अहिलेसम्म १ हजार बढी रकेट प्रहार गरिसकेको समाचारमा उल्लेख छ ।

इजरायलले तीमध्ये अधिकांश रकेटलाई आकाशमै ध्वस्त पारेको छ भने जवाफमा गाजामा हवाई आक्रमण गरेको जनाइएको छ । इजरायलको आक्रमणमा अहिलेसम्म हमासको कार्यालय रहेकोसहित तीन वटा ठूला भवन ध्वस्त भएका छन् ।

समाचार अनुसार इजरायली सेनाले आफ्नो आक्रमणबाट हमासका ४ जना उच्च कमाण्डर मारिएको बताएको छ । अहिलेसम्म इजरायली हमलामा परी गाजामा ६५ जना मानिसको मृत्यु भएको र त्यसमध्ये १६ जना बालबालिका रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।इजरायलमा ६ जना मानिसले ज्यान गुमाएका छन् । रकेट हानाहान नरोकिएपछि इजरायल र प्यालेस्टाइनबीच युद्ध हुने हो कि भनेर अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरेका छन् । विभिन्न मुलुकले दुबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

यसबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग टेलिफोनमा कुरा गरेका छन् । स्थिति छिटै सामान्य अवस्थामा फर्कने बाइडेनको विश्वास छ। तर उनले आफ्ना नागरिकको रक्षा गर्ने अधिकार इजरायलसँग रहेको बताएका छन् ।

दुई पक्षबीच युद्धविराम गराउन अमेरिकाले आफ्ना विशेष दूत पठाउन लागेको छ। इजिप्टलगायत अरू मुलुकले पनि युद्धविरामका लागि पहल थालेका छन्।इजरायलको सेनाले भने पूर्ण शान्ति नभएसम्म युद्धविरामको सम्भावना नरहेको बताएको छ ।

समाचार अनुसार रकेट हानाहान जारी रहँदा इजरायलमा यहुदी र अरबी समुदायबीच पनि हिंसाका घटनाहरू हुन थालेका छन्। केही यहुदीहरूले अरबी समुदायका सवारी साधनमाथि आक्रमण गरेका घटनाहरू बाहिरिएका छन् । इजरायल र प्यालेस्टाइनीबीच पछिल्लो तनावको सुरूआत जेरूसेलम डे र शेख जराहमाबारे भएको थियो ।

सन् १९६७ मा अरबइजरायल युद्ध हुँदा इजरायलले पूर्वी जेरूसेलम आफूले लिएको सम्झनामा मनाइने जेरूसेलम डेुमा हजारौं यहुदीहरूले मार्च गर्ने गर्छन् । तनाव कम गर्न प्रहरीले यसपालि मार्चको रूट परिवर्तन गरेको थियो । शेख जराहमा रहेका प्यालेस्टाइनीहरूलाई त्यहाँबाट निकालेर उनीहरूका घर यहुदीहरूलाई दिन मिल्छ कि मिल्दैन भन्नेबारेमा अदालतमा विचारधीन मुद्दाको फैसला सरेपछि प्यालेस्टाइनीहरूमा आक्रोश बढेको थियो ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्