Logo
Logo

खोप र स्वास्थ्य सामग्री सहयोग गर्न चीनलाई अपील


दृष्टि संवाददाता


काठमाडौं । नेपाली नागरिकका प्रतिनिधिहरुले छिमेकी मुलुक चीनलाई सहयोग गर्न अपील गरेका छन् । कोरोना संक्रमणको महामारीले नेपालको स्वास्थ्य क्षेत्र संकटपूर्ण अवस्थामा पुगेपछि चीनलाई सहयोगको लागि अपील गरिएको हो ।

नेपालीहरुको तर्फबाट पत्रकार, लेखक, कलाकार, समाजसेवी, प्राध्यापक, व्यवसायीलगायतले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीमार्फत् चीनसँग सहयोग मागेका छन् ।

‘नेपाली नागरिकका तर्फबाट, हामी चीन सरकार र चिनियाँ नागरिकलाई पुनः एक पटक नेपालको भयावह स्वास्थ्य अवस्था सुधारका निम्ति आफ्ना सहयोगी हात अघि सार्न विनम्र अनुरोध गर्दछौं,’ नेपाली नागरिकहरुको तर्फबाट राजदूत यान्छीलाई बुझाइएको संयुक्त अपीलमा भनिएको छ ।

विगत केही सातायता नेपालमा कोभिड–१९ संक्रमितको संख्या १२ सय प्रतिशतले बढेको र परीक्षणमा पोजेटिभ देखिनेको दर लगातार पचास प्रतिशतभन्दा बढी रहँदै आएको ‘जागरुक नागरिकहरु’ नामक ८६ जनाको नाम उल्लेख गरिएको संयुक्त अपीलमा उल्लेख छ ।

अपीलमा आगामी महीनाहरूमा अझै कठीनपूर्ण संघर्ष गर्नुपर्ने निश्चित रहेको र सम्भावित मानवीय विपतसँग जुध्न नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्रीको सहायता चाहिएको उल्लेख छ ।

चीन सरकारले नेपाललाई सन् २०१५ को गोरखा भूकम्प र भारतले लगाएको नाकाबन्दीका साथै कोरोना महामारीको बेला खोप, अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्रीमा गरेको सहयोगप्रति आभार व्यक्त गरिएको छ ।

चीनले अनुदानमा दिएको आठ लाख भेरोसेल खोप अपुग भएको र नेपालका जम्मा एक प्रतिशत जनसंख्याले पूर्ण–खोप (दुवै डोज) लगाउन पाएको भन्दै थप खोप उपलब्ध गराइदिन पनि आग्रह गरिएको अपिलमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्