Logo
Logo

भारतद्वारा दुई सय विद्यार्थीलाई स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० फागुन । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न विश्वविद्यालय तथा कलेजमा स्नातक तहको अध्ययनलाई अघि बढाउन दुई सय विद्यार्थीलाई छात्राबृत्ति प्रदान गरेको छ ।
दूतावासले नेपाली विद्यार्थीलाई शैक्षिक सत्र २०७५/०७६ का लागि स्वर्ण जयन्ती छात्रवृत्ति प्रदान गरेको जनाएको छ । यस वर्ष नेपालका ५० जिल्लाको विद्याथीले बिबी, बिडिएस, बिई, बिएससी, बिबिए, बिकमलगायत ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् । ती विद्यार्थीमध्ये ४५ प्रतिशत छात्रा र ८ प्रतिशत अपांग रहेका छन् ।
राजधानीमा आयोजित स्वर्ण जयन्ती छात्रवृत्ति समारोहका प्रमुख अतिथि शिक्षा सचिव खगराज बरालले दुई सय विद्यार्थीलाई छात्रवृत्तिका लागि योग्यताको प्रमाणपत्र प्रदान गरे ।
नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीलाई बधाई दिँदै उनीहरुलाई व्यक्तिगत तथा व्यवसायिक सफलता हासिल गर्न सल्लाह दिए । उनीहरुको सफलताले नेपालको सामाजिक आर्थिक विकासमा टेवा पुर्याउनुका साथै भारत–नेपाल सम्बन्धलाई थप मजबुत बनाउने उनले विश्वास व्यक्त गरेका छन् ।

सन् २००२ मा भारत सरकारले ‘भारत–नेपाल आर्थिक सहकार्य’ को ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण जयन्ती छात्रवृत्तिको सुरुवात गरेको थियो । यस छात्रवृत्ति कार्यक्रमको पहिलो संस्करणअन्तर्गत ५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । सन् २००७ मा सो छात्रवृत्ति संख्या वृद्धि भई १०० पुगेको थियो । सन् २०१२ यता छात्रवृत्ति संख्या दुई गुनाले वृद्धि भएर दुई सय पु-याएको हो ।

प्रतिक्रिया दिनुहोस्