Logo
Logo

हिमालयन र इन्भेष्टमेन्टबीच मर्जर सम्झौता


दृष्टि संवाददाता


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंकबीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैशाख ३० गते नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरेका हुन् ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने छ । त्यस्तै, संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ ।

हिमालयन बैंकमा पाकिस्तानको बैंक हबिबको २० प्रतिशत लगानी छ। यसले आफ्नो सेयर मर्जरको समयमा पनि बिक्री गर्न पाउने भएको छ। राष्ट्र बैंकको स्वीकृति लिएर मर्जरको सहमति भएको हो।

हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १६ अर्ब २६ करोड रुपैयाँ तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ रहेको छ । दुबै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड रुपैयाँ पुग्ने छ । र, सबैभन्दा बढी चुक्ता पुँजी भएको बैंक बन्नेछ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित हुने छ ।

त्यस्तै, ग्राहकलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंका अध्यक्षले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्