Logo
Logo

अस्पतालले लिन छाडे बिरामी भर्ना


दृष्टि संवाददाता


फाइल तस्बिर : नागरिकबाट

काठमाडौं । देशभर कोरोना संक्रमणका बिरामीको संख्या बढिरहेको छ तर अक्सिजन अभावमा अस्पतालले आफ्नो क्षमताअनुसार उपचार सेवा दिन पाएका छैनन् । सरकारले अक्सिजन आपूर्तिमा कोटा प्रणाली लगाएपछि बरु उल्टै अस्पतालले भर्ना लिने बिरामीको संख्या घटाउँदै लगेका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिडका तीन सय बिरामीको उपचार गर्ने प्रतिबद्धता जनाएको थियो । अक्सिजन अभाव भएपछि १ सय ७० जनालाई मात्र भर्ना लिएर सेवा दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार भर्ना भएका ८० प्रतिशत बिरामी अक्सिजन चाहिने छन् ।

उनीहरूलाई अक्सिजन पुर्‍याउन नसकेपछि तीमध्ये केही हाइफ्लो अक्सिजन चाहिने अवस्थाका छन् । अस्पतालले बिरामीको संख्या घटाएर १ सय ७० मा सीमित पारेको उनले बताए। अक्सिजन अभाव भएपछि चिकित्सकले कतिपय बिरामीलाई हातैले श्वास–प्रश्वास व्यवस्थापन गरेको शाक्यले बताए ।

यस्तै त्रिवि शिक्षण अस्पतालसँग चार सय बिरामी भर्ना लिएर उपचार गर्न सक्ने क्षमता छ । तर अक्सिजन अभाव भएपछि अस्पतालले बेड संख्या बढाउन सकेको छैन । बिरामी भने बरन्डामा पालो कुरेर बसिरहेका छन् । यसरी पालो कुरेर बस्ने बिरामी ५० जना भएको अस्पतालले जनाएको छ । अक्सिजन नपाएपछि पालो कुर्दाकुर्दै बिरामीको मृत्यु हुने गरेको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।

राजधानीकै हिमाल अस्पतालले आवश्यकताअनुसार अक्सिजन आपूर्ति भए एकै पटकमा चार सय बिरामीलाई बेड व्यवस्थापन गरेर उपचार दिने सकिने जनाएको छ । हाल अस्पतालमा ३२९ संक्रमित उपचाररत छन् । तीमध्ये ५० जना आइसियुमा छन्। अहिलेकै अवस्थामा दैनिक ३ सय सिलिन्डर अक्सिजन चाहिने भए पनि सरकारले जम्मा ४० सिलिन्डरको कोटा तोकेपछि समस्या जटिल बनेको अस्पतालले जनाएको छ । अक्सिजन अभाव भएपछि पछिल्ला दिनमा नयाँ बिरामी भर्ना नलिएको अस्पताल स्रोतले बतायो ।

देशकै सबैभन्दा ठूलो सरकारी अस्पताल वीरले पनि अक्सिजन अभावकै कारण नयाँ सर्जिकल भवनलाई कोभिड वार्डमा विस्तार गर्न नसकेको जनाएको छ । वीरले बिहीबारदेखि भर्ना लिने बिरामीको संख्या पनि घटाएको छ । यस्तै राष्ट्रिय ट्रमा सेन्टरले अक्सिजन अभावका कारण नयाँ बिरामी भर्ना लिन सक्ने स्थिति नरहेको जनाएको छ ।

‘अक्सिजन अभावले गर्दा अस्पतालहरू तनावग्रस्त भएका छन्’, वीर अस्पतालका वरिष्ठ फिजिसियन डा. धु्रव गैरेले भने । अक्सिजन नपाएका कारण विभिन्न अस्पताल हुँदै वीरमा आइपुगेका बिरामीको तत्कालै मृत्यु हुने गरेको डा। गैरेले बताए । ‘अक्सिजन नभएपछि साना अस्पतालले ठूलो अस्पतालमा लैजाऊ भन्दै पठाउँछन् । एम्बुलेन्समै अक्सिजन लेभल घटिसकेको हुन्छ । यस्ता बिरामी हामीकहाँ आइपुग्ने बित्तिकै ज्यान गुमाउन बाध्य भएका छन्’, उनले भने ।

‘अक्सिजन चाहिने बिरामीलाई त्यत्तिकै भर्ना गरेर मार्नु भन्दा अस्पतालहरूले आमाकै काखमा मरुन् भनेर भर्ना लिन छोडे’, उनले थपे । राजधानीका धेरै सरकारी कोभिड अस्पतालले अक्सिजन अभावले कोरोनाका बिरामीको छिटो मृत्यु हुने गरेको संकेत गरेका छन् ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्