Logo
Logo

सरकार बनाउन नसक्नेले प्रतिगमन भन्नु गलत : प्रधानमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन गर्न नसक्नेहरूले मुलुकमा प्रतिगमन भएको आरोप लगाइरहेको बताएका छन् । तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको बताउँदै सरकार बनाउन नसक्नेले मुलुकमा प्रतिगमन भएको आरोप लगाएका हुन् ।

’यतिबेला पनि केही अस्थिरता चाहने, मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दि गर्ने र देशमा प्रतिगमन भएको देख्छन्,’ प्रधानमन्त्री ओलीले भने, ’आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अरुले सरकार बनाउनु प्रतिगमन, यस्तो तथाकथित नक्कली क्रान्तिकारी चश्माबाट हेर्छन् र अहिले पनि जनतालाई भ्रममा पार्न खोजिरहेका छन्, मुलुकमा प्रतिगमन भएको छ ।’

वर्तमान सरकारलाई प्रतिगमनमा गएको देख्नेहरूले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ उपधारा ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री पदको शपथ लिएका हुन् । उनले अब ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्