Logo
Logo

नयाँ मोडमा निर्मला प्रकरणः दिलिपले नै हत्या गरेको आमाको आशंका


- दृष्टि न्युज/संवाददाता



काठमाडौैं, १ चैत ।
निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण नयाँ मोडमा पुगेको छ । निर्मलाकी आमा दुर्गादेवीले यसअघि पक्राउ परेर छुटेका दिलिपसिंह बिष्टले नै हत्या गरेको हुनसक्ने आशंका गरेकी छिन् । साथै अदालतमा समेत आफ्नो जाहेरी फिर्ताका लागि निवेदन दिएकी छिन् ।


गत १० साउनमा साथीको घर जान भनी घरबाट निस्केकी निर्मलाको ११ साउनमा घर नजिकैको उखुबारीमा शव फेला परेको थियो । त्यसयता निर्मलाको बलात्कार तथा हत्या अनुसन्धानमा प्रहरी आलोचित हुँदै आएको छ ।
प्रहरीले हत्याको अनुसन्धानमा दोषी भन्दै नियन्त्रणमा लिइएका कसैको पनि डीएनए मेल नखाएपछि अनुसन्धानमा प्रहरीले हैरानी खेप्दै आएको थियो भने प्रहरीमाथि नै निर्दोषलाई दोषी देखाउन सक्रिय भएको आरोप लाग्दै आएको थियो । प्रमाण अभावमा प्रहरीले हालसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
तर, अहिले एकाएक निर्मलाकी आमा दुर्गादेवीले प्रहरीले सुरुमै हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरेका दिलिपसिंह विष्टमाथि नै शंका गरेपछि प्रहरी भने फेरि अलमलमा परेको छ ।

निर्मलाकी आमाले केही दिनअघिको बयानमा दिलिपसिंह विष्ट नै निर्मलाको हत्यामा संलग्न रहेको हुन सक्ने बताएकी छिन् । उनले दिलिपसिंहले प्रहरीलाई दिएको बयानको भिडियो आफूले हेरेपछि आफ्नो घरका सबै कुरा उसलाई थाहा भएको, छोरीको साइकलबारे समेत उसलाई थाहा भएकाले र उसको अवस्थाका कारण पनि ऊ निर्दोष हो भन्न नसकिने अवस्था रहेकाले उनीमाथि नै अनुसन्धान गरिनुपर्ने बयान दिएकी छन् ।
उनी भन्छिन् ‘म कानुन जान्दिनँ, मानव अधिकारकर्मीहरूले पहिले मेरो सही गरेर के के लेखेर उजुरी दिए, मलाई थाहा भएन । तर, मैले अहिले दिलिपसिंहले प्रहरीमा दिएको बयानको भिडियो हेरें । उसलाई मेरो घर र छोरीको साइकलको सबै अवस्था कसरी थाहा भयो त ? ऊ निर्दोष हो भनेर कसरी भन्ने ? डीएनए नमिल्दैमा निर्दोष हुन्छ ? ऊमाथि फेरि अनुसन्धान गर्नुपर्छ । मैले अदालतमा त्यही भनेकी छु ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले अनुसन्धानको दायरामा आएर तारेखमा छुटेकाहरू कोही पनि अनुसन्धानको दायराबाट बाहिर नरहने जनाए ।
६ प्रहरी धरौटीमा छुटे
सो घटनामा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक यातना तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा मुद्दा लागेका पूर्व्डिएसपी ज्ञानबहादुर सेठीसहित ६ प्रहरी धरौटीमा रिहा भएका छन् । डिएसपी सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सइद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउद रिहा भएका हुन् ।
बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले धरौटीमा छाड्न आदेश दिएको डेढ घन्टामै उनीहरूले तोकेको रकम बुझाएका हुन् । सबैको थुनछेक बहस बुधबार नै सकिएको थियो । ‘सबै प्रहरीले धरौटी जम्मा गरेर आजै रिहा भए,’ स्रेस्तेदार हरिकृष्ण अवस्थीले भने ।

अदालतले डिएसपी सेठी र इन्स्पेक्टर एकेन्द्र खड्कालाई सार्वजनिक यातनाविरुद्धको कसुरमा पाँच–पाँच लाख र सार्वजनिक न्यायविरुद्धको कसुरमा चार–चार लाख गरी जनही नौ लाख धरौटी असुल्न आदेश दिएको थियो । यस्तै, सार्वजनिक न्यायविरुद्धको कसुरमा इन्स्पेक्टर जगदीशप्रसाद भट्टलाई चार लाख, सइ हरिसिंह धामीलाई तीन लाख ५० हजार, सइ रामसिंह धामीलाई तीन लाख र जवान चाँदनी साउदलाई दुई लाख ५० हजार धरौटी तोकेको थियो ।

सार्वजनिक यातनाविरुद्धको कसुरमा मुद्दा लागेका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र अनुसन्धानका डिएसपी अंगुर जिसी भने फरार छन् । उनीहरूलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन अदालतले केही दिनअघि पत्र काटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्