Logo
Logo

ओली-नेपाल समूहको छलफल जारी, जेठ २ कै वरिपरि सहमति खोजिँदै


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल जारी छ । नेकपा एमालेको विवाद मिलाउने विषयमा अध्यक्ष ओली र नेता नेपालबीच सिंहदरबारमा छलफल भइरहेकाे हो ।

छलफलमा एमालेको ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरूको उपस्थित छ । वार्तामा माधवकुमार नेपाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट छन् भने ओली पक्षबाट नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।

बिहीबार ओली र नेपालबीच ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएसँगै दुवै समूह आज छलफलमा जुटेको हो ।

यसअघि दुई नेताबीच भएको वार्तामा कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल रहनेबारे छलफल भएको थियो ।

यस्तै, नेपाल समूहकोतर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट सदस्य रहने बताइएको थियो । आजको बैठकले सोही सदस्यको नाम टुंगो लगाउने बुझिएको छ ।

गठन हुने कायर्दलले दुई पक्षबीच रहेको मतभेद पहिल्याउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि भूमिका खेल्ने दावी गरिएकाे छ। माधव समूहले २०७५ जेठ २ को अवस्थामा पुर्याउनुपर्ने अडान राख्दै आएको छ ।

जेठ २ को अवस्था पुग्नु भनेको माओवादी र एमालेबीचको एकता प्रक्रिया भन्दा आगडीको अवस्थामा पुग्नु हो । नेता नेपालले राख्दै आएको माग अनुसार सर्वोच्चले नेकपा खारेज गरे यता एमालेले गरेका सम्पूर्ण निर्णय खारेज गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्