कर्णालीका तीन मन्त्रीकाे सपथ स्थगित « Drishti News – Nepalese News Portal
Logo

कर्णालीका तीन मन्त्रीकाे सपथ स्थगित


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेशका तीन मन्त्रीकाे सपथ स्थगित भएकाे छ । मुख्यन्त्री महेन्द्रबहादुर शाहीले नियुक्त गरेका तीन मन्त्री गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपालीकाे सपथ स्थगित भएकाे हाे ।

मुख्यमन्त्री शाहीले बुधबार आर्थिक मामिला तथा योजनामन्त्रीमा शर्मा, आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्रीमा बिष्ट र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नेपालीलाई नियुक्त गरेका थिए ।

शाहीले तीन मन्त्री नियुक्त गरेपछि प्रदेश प्रमुखको कार्यालयले बिहीबार ११ बजे शपथग्रहण कार्यक्रम राखेको थियो । तर, मन्त्री नियुक्ति र मन्त्रालय विभाजनमा कांग्रेसको असहमति देखिएपछि उनीहरुको शपथग्रहण रोकिएको हाे ।

आफूलाई जानकारी नै नदिएर मन्त्रालय फूटाएको भन्दै प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले विरोध गरेको छ । मुख्यमन्त्री शाहीको सत्ता जोगाएको कांग्रेसले कर्णालीमा दुईवटा मन्त्रालय माग गर्दै आएको छ ।

स्रोतका अनुसार शपथग्रहण कार्यक्रम स्थगित भएपछि बिहीबार बिहानैदेखि मुख्यमन्त्री शाही, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र माधव नेपाल समूहका एमाले नेता प्रकाश ज्वालाबीच छलफल भएको थियो ।

काँग्रेसले सामाजिक विकास मन्त्रालयसहित मन्त्री नियुक्तिमा भद्र सहमित भएकामा मुख्यमन्त्रीले मन्त्रालय टुक्र्याएर आफ्नै ढंगले मन्त्री नियुक्त गरेपछि समस्या उब्जेको कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले बताए ।

मुख्यमन्त्री शाहीले वैशाख ३ गते संसदबाट विश्वासको मत लिएपछि पहिलोपटक मन्त्रिपरिषद् हेरफेर गरेका थिए । उति बेला संसदीय दलको ह्विप उल्लंघन गर्दै फ्लोर क्रस गरेका एमालेका अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र कुर्मराज शाहीलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्