Logo
Logo

एमाले विवाद समाधान गर्न सहमति


दृष्टि संवाददाता



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति अबेरसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालसहित दोस्रो तहका नेताबीचको छलफलमा पार्टी विवाद समाधान गर्न सहमति भएको हो ।

एमाले सचिव गोकर्ण विष्टले सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठमै फर्किने विषयमा सहमति जुटेको जानकारी दिए । उनका अनुसार शीर्ष नेतासहितको छलफलमा कार्यदल बनाएर सहमति जुटाइने भएको छ ।

‘२ जेठमा फर्किएर पार्टी समस्या समाधान गर्ने सहमति भएको छ, त्यसका लागि कार्यदल बनाएर मोडालिटी बनाइने भएको छ,’ विष्टले भने । वरिष्ठ नेता नेपाल समूहले भोलि २ जेठ आइतबार फर्किने विषयलाई ‘बटमलाइन’ बनाउँदै आएको छ ।

कार्यदलमा रहने नेता टुंगो शनिबार ओली र नेपालले लगाउनेछन् । पार्टीमा देखिएको विवाद समाधान गर्दै एकता जोगाउने विषयमा ओली र नेपाल सहमत देखिएकाले कार्यदल बनाउने सहमति जुटेको हो ।

पार्टीभित्रको विवाद समाधानका लागि बिहीबार ओली र नेपालबीच छलफल भएको थियो । त्यसपछि दुवैतर्फका दोस्रो तहका नेतासहितको छलफल शुक्रबार भएको हो ।

‘आज सौहार्दपूर्ण वातावरणमा छलफल भयो, पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो,’ बैठकपछि नेपालनिकट नेता रघुजी पन्तले भने ।

छलफलमा ओलीसहित सो समूह नेता एवं एमाले महासचिव ईश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तसमेत सहभागी थिए । ओली समूहबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापासमेत छलफलमा सहभागी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट आएका नेताको जिम्मेवारीलगायतका विषयमा गृहकार्य गर्न कार्यदल बनाउने सहमति पनि भएको छ । अब गठन हुने कार्यदलले यी विषयमा छलफल गरेर प्रतिवेदन बुझाएपछि कार्यान्वयन गरिनेछ ।

नेपाल समूहले एमाले ब्युँताउने सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार २ जेठ २०७५ अगाडिकै एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनुपर्ने अडान लिँदै आएको छ । तर, आफूलाई सहयोग गर्दै आएका पूर्वमाओवादी केन्द्र नेतालाई पार्टीमा जिम्मेवारी दिनुपर्ने अडानमा रहेका छन् ।

नेपाल समूहले २ जेठ २०७५ पार्टी कमिटीका बैठक राखेर एमाले प्रवेश गरेकालाई सहभागी गराउन सकिने बताउँदै आएका छन् ।

यसैबीच, शुक्रबार वरिष्ठ नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य तथा स्थायी कमिटी सदस्यसँग छलफल गरेका छन् । छलफलमा केन्द्रीय सदस्यले २ जेठ २०७५ बाट पछि हटेर सहमति नगर्न नेता नेपाललाई सुझाव दिएका छन् ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्