काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सम्पूर्ण ध्यान कोरोना महामारीविरुद्धको युद्धमा लगाउन अनुरोध गरेका छन् ।

Photo: Naresh Shrestha/ THT
नेता थापाले शनिबार एक भिडियो सन्दैश जारी गर्दै प्रधानमन्त्री ओलीलाई केही दिनका लागि पार्टी भित्रको विवाद मिलाउने र चर्काउने काम छाडरे कोरोना महामारीविरुद्ध लाग्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘अब केही दिन, मात्र केही दिन, छाडिदिनुहोस् पार्टी भित्रको विवाद मिलाउन वा चर्काउन, फकाउन, फुटाउन सबै कुरा छाडिदिनुहोस् ।’
यथार्थलाई स्वीकार गर्दै सम्पूर्ण शक्ति महामारीविरुद्धको युद्धमा लगाउन थापाले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् । उनले भनेका छन्, ‘केही दिनलाई सभा, सम्मेलन, भेटघाट, उद्घाटन, शिलान्यास सबै रोकिदिनुहोस्, केही दिनलाई बोल्न बन्द गरिदिनुहोस्, यथार्थलाई स्वीकार गर्नुहोस्, अनि तपाईंको मन, ध्यान, तपाईंको सम्पूर्ण शक्ति, तपाईंको समय, सम्पूर्ण, शतप्रतिशत यही महामारीविरुद्धको युद्धमा लगाउनुहोस्।’
कोरोनाबाट जनतालाई बचाउन कामना र प्रार्थना गरेरे मात्रै नहुने उनले बताएका छन् ‘यो महामारीबाट हामीले धेरै जीवन गुमाइ सकेका छौं। अझ कति गुमाउने हो थाहा छैन। यीमध्ये धेरैलाई बचाउन सकिन्थ्यो। अझै पनि बचाउन सकिन्छ । तर, कामनाले मात्रै यो सम्भव छैन, काम चाहिएको छ। प्रार्थनाले मात्रै सम्भव छैन, तपाईं हाम्रो प्रयत्न चाहिएको छ,’ थापाले भिडियो सन्देशमार्फत भनेका छन् ।











