Logo
Logo

महामारीमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि


दृष्टि संवाददाता


काठमाडौं । कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, ठूला व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डालगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् ।

निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानीसमेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम ठूला व्यापारीहरूबाट भइरहेको छ । खुद्रा व्यापार संघले दिएको जानकारीअनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मसुरोको दालको मूल्य यति बेला प्रतिकिलो १ सय २२ रुपैयाँ पुगेको छ ।

मासको दालमा प्रतिकिलो १० रुपैयाँले वृद्धि हुँदै १ सय ६५ बाट १ सय ७५ रुपैयाँ पुगेको छ । १ सय १० रुपैयाँ किलो रहेको चनाको मूल्यमा २५ रुपैयाँले वृद्धि हुँदै प्रतिकिलो १ सय ३५ रुपैयाँ पुगेको छ । त्यसैगरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ । यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने संघका निवर्तमान अध्यक्ष पवित्रमान वज्राचार्यले बताए ।

उनका अनुसार खाद्य वस्तुको व्यापारमा कालो बजारी मौलाएको छ । ‘यो समस्या न सरकारलाई हेर्ने फुर्सद छ न त नियामक निकायलाई यससम्बन्धी कुनै चासो छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । यही मौकामा थोक व्यापारीहरूले खुद्रा व्यापारीलाई सही मूल्यको बीलबीजक नदिने समस्या पनि उत्तिकै बढेको उनको भनाइ छ ।

शनिवार उनी आपैmले थोक व्यापारीबाट प्रतिकिलो ८९ रुपैयाँमा किनेको चिनीमा ७७ रुपैयाँको मात्र बिल पाए । ‘मैले किनेको मूल्यमा १२ रुपैयाँ कमको बिल पाएको छु अहिले बजारमा चिनीको खुद्रा मूल्य ९० रुपैयाँ प्रतिकिलो छ । यस्तो अवस्थामा मैले त्यो चिनी कसरी बेच्ने रु,’ उनले गुनासो गरे ।

खुद्रा व्यापारीले सही बिलबीजक नपाउने समस्या पुरानै भएकाले यसको समाधानका लागि वाणिज्य विभाग र आन्तरिक राजस्व विभाग दुवैको संयुक्त टोली बनाएर अनुगमन तीव्र पार्नुपर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेल बताउँछन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्