Logo
Logo

एकै परिवारका पाँचजना अपांग भएपछि…


दृष्टि संवाददाता


काठमाडौं । सुन्दा अचम्म लाग्न सक्छ । पत्यार नलाग्न पनि लाग्न सक्छ । तर, पत्याउनुपर्ने तितो यथार्थ हामीले मोरङको रतुवामाई नगरपालिकामा देख्यौँ जहाँ एकै परिवारका पाँच सन्तान अपांग छन् ।

मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ८ का सिक्किमे टोलमा एकै परिवारका तीन छोरी, दुई छोरा सुस्तमनस्थितिका छन् ।

४३ वर्षीया निर्मला, ४१ वर्षीय निर्मल, ३० वर्षीय उमेश, २९ वर्षीया पार्वता र २७ वर्षीया गोमा सुस्तमनस्थितिका छन् । तुलसीराम ढुंगानाका दुई श्रीमतीबाट आठ सन्तान छन् । जेठी श्रीमतीको देहान्तपछि आफ्नै साली सिर्जनालाई विवाह गरेका थिए । उनका तीनजना सन्तानले विवाह गरिसकेका छन् भने पाँचजनाको अवस्था दयनीय छ ।

पाँचजना छोराछोरीको पालनपोषण गर्दै आएका तुलसीरामको समेत निधन भइसकेको छ । ढुंगानाको गत जेठमा निधन भएको हो । पाँचै सन्तानलाई हेर्न, उनीहरूको माग र आवश्यकता बुझेर सन्तुष्ट पारिदिन हम्मे परेको छ ।’ हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, बोल्न र सोच्न नसक्ने सन्तान भएपछि सिर्जनालाई छोराछोरीका पालनपोषण गर्न नै समस्या हुने गरेको छ ।

पाँच सन्तानको हेरचाहमा नै सिर्जनाको दिन बित्ने गरेको छ । ढुंगाना परिवारको आम्दानीको स्रोत एक बिघा जमिन मात्र हो । छोराछोरी अपांग भएपछि सघाउने कोही नहुँदा उनले भएको खेत अधियाँ लगाएकी छिन् । अधियाँबाट आएको धानले वर्षभरि परिवारलाई खान पुग्दैन, किनेर खानुपर्ने अवस्था छ । आम्दानीको स्रोत अन्य नभएपछि भएकै जग्गा बेच्नुपर्ने बाध्यता उनीहरूमा आइपरेको छ ।

खुवाउनेदेखि दिसापिसाबसमेत अरूको सहाराले गराउनुपर्ने हुन्छ । उनीहरूले आफैँ निश्चित ठाउँमा केही गर्दैनन् । दिनभरि उनीहरूको गोठालो लाग्नुपर्छ । छोराछोरीले जे भेट्यो त्यही खाने, मानिसले खाने र जनावरले खाने वस्तु नचिन्ने, घरका सामान तोडफोड गरिदिने र जहाँ पायो त्यहीँ बस्ने, दिसापिसाब गरेको पनि थाहा पाउँदैनन् । उनीहरूको बोलीसमेत प्रस्ट छैन ।

सरकारद्वारा सामाजिक सुरक्षा भत्ता पाउने गरेका छन् । त्यसले सिर्जनालाई केही सहज बनाएको छ । उनीहरुलाई दैनिक बिस्कुट, भुजिया र चाउचाउ दिनुपर्छ । ‘एकछिन खान नपाए उनीहरू कराउने गर्छन् । रतुवामाई ८ कै कमलादेवी गुरागाईं र डिल्ली गुरागाईंले ढुंगाना परिवारका लागि एउटा घर बनाइदिएका छन् ।

बरन्डासहित तीनकोठे जस्ताको छाना लगाएर घर बनाइदिएका हुन् । काठको घरमा जोखिमपूर्ण तरिकाले बसेको देखेपछि गुरागाईं परिवारले केही वर्षअघि घर बनाइदिएको हो । त्यस्तै, घर वरिपरि फलामको बेरा रतुवामाई नगरपालिकाले बनाइदिएको थियो ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्